arrow

अझै खुलेन कालीगण्डकी करिडोर

logo
हाम्रा कुरा
प्रकाशित २०८० साउन २७ शनिबार
Pahiro-baglung.jpg

बागलुङ । भारी वर्षासँगै झरेको पहिराका कारण राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोर पुनःअवरुद्ध भएको छ । 

आयोजानको बागलुङ-कुश्मीसेरा खण्डअन्तर्गत बागलुङ नगरपालिका–१० दब्ल्याङमा सडकमाथिबाट झरेको पहिराले करिडोर अवरुद्ध बनाएको हो ।

शुक्रबार दिउँसो करिब २० घन्टापछि सञ्चालनमा आएको उक्त सडक गएराति १२ बजेदेखि पुनःअवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मदन केसीले जानकारी दिए । 

उनका अनुसार अहिले पनि भारी वर्षा भइरहेकाले सडक खुलाउन समस्या भइरहेको छ । 

वर्षा रोकिएपछि सडक सञ्चालनका लागि पहल गरिने प्रहरी नायब उपरीक्षक केसीले बताए । 

उनका अनुसार सडक अवरुद्ध हुँदा कालीगण्डकी करिडोरमा चल्ने जिल्लाको दक्षिणको जैमिनी, बलेवा र बरेङ क्षेत्रका सवारीसाधन ठप्प भएका छन् । 

दिनदिनै सडक अवरुद्ध हुन थालेपछि दक्षिण क्षेत्रमा सामान ढुवानी गर्न तथा आवागमनमा समस्या भइरहेको जैमिनी नगरपालिकाका उपप्रमुख हरिहर शर्माले बताए । 

“पहिरोले निकै दुःख दिइरहेको छ । करिडोरमा पहिरो खस्दा बागलुङ र जैमिनी नगरपालिका तथा बरेङ गाउँपालिका भएर दैनिक यात्रा गर्ने हजारौँ नागरिक प्रभावित बनेका छन्”, उनले भने, “यसको दीर्घकालीन समाधानका लागि प्रदेश सरकारसँग छलफल गरेका छौँ । काम सुरु भएको छैन ।” 

पहिराले करिडोरका साथै वैकल्पिक सडकलाई पनि क्षति पुर्याएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ