arrow

माछापुच्छ्रेले ल्यायो मोबाइल बैंकिङ्गमा अफलाइन ‘ट्याप एन्ड पे’ सेवा 

logo
हाम्रा कुरा
प्रकाशित २०८० साउन २७ शनिबार
machhapuchhre-bank-tap-and-pay.jpg

काठमाडौँ । माछापुच्छ्रे बैंकले नेपाली बैंकिङ्ग उद्योग क्षेत्रमा पहिलो पटक ईएमभी स्ट्याण्डर्डमा आधारित टोकनाइज्ड प्रविधिको प्रयोग गरी मोबाइल बैंकिङ्ग एप्लिकेसनमा कन्ट्याकलेस अफलाइन ‘ट्याप एन्ड पे’ सेवा शुरु गरेको छ ।

 टोकनाइजेसनलाई विश्वमा नै सबैभन्दा बढी सुरक्षित र भरपर्दो प्रविधिको रुपमा लिने गरिन्छ । जसमा ग्राहकहरुको खाता विवरणको सट्टा सिष्टम जेनेरेटेड कोडबाट कारोबार हुने हुँदा ग्राहकको विवरण गोप्य र सुरक्षित रहने बैंकले बताएको छ ।  

माछापुच्छ्रे बैंकले उक्त सेवा शुरु गरेसँगै बैंकका ग्राहकले तोकिएका निश्चित मर्चेन्टहरुबाट पीओएसमार्फत कारोबार गर्दा बैंकको मोबाइल बैंकिङ्ग एप्लिकेसन एमबीएल एम–स्मार्ट प्रयोग गरी आफ्नो फोनको माध्यमबाट ट्याप गरी भुक्तानी गर्न सक्नेछन् । 

हाललाई यो सेवा एनएफसी सपोर्ट गर्ने एन्ड्रोइड मोबाइलबाट प्रयोग गर्न सकिने छ र सेवा प्रयोग गरे बापत ग्राहकलाई कुनै पनि शुल्क लाग्ने छैन ।

बैंकले साझेदारी र सहकार्यलाई आत्मसात गर्दै एफ वान सफ्ट इन्टरनेशनल प्राइभेट लिमिटेड, नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) र सिटिटेक प्राइभेट लिमिटेडसँगको संयुक्त प्रयासमा उक्त सेवा विस्तार गरेको हो । 

बैंकले टोकनाइजेशलाई विस्तारै अन्य प्रोडक्ट तथा सर्भिसहरुमा पनि प्रयोगमा ल्याउने जानकारी गराएको छ ।

बैंकिङ्ग क्षेत्रमा विभिन्न ट्रेण्ड सेट गर्दै अगाडि बढिरहेको माछापुच्छ्रे बैंकले विशेष गरी डिजिटल बैंकिङ्ग क्षेत्रमा अनुसन्धान र खोजलाई प्राथमिकतामा राख्दै नविनतम सेवा र सुविधाहरु आफ्ना ग्राहकहरु माझ संचालन गर्दै आएको विदितै छ । 

यसै क्रममा समयसापेक्ष अत्याधुनिक प्रविधिको प्रयोगलाई प्राथमिकता दिँदै ग्राहक महानुभावहरुको सुविधालाई मध्यनजर गर्दै तथा डिजिटल बैंकिङ्ग सुविधाहरुलाई हरेक तह र तप्कासम्म पुर्याउने उद्देश्यले ‘ट्याप र पे’ सेवा यस बैंकले संचालनमा ल्याएको हो । 


 



नयाँ