माछापुच्छ्रे बैङ्क लिमिटेडको वीचैट पे सञ्चालनकर्ता टेनपेसँग प्रत्यक्ष साझेदारी
एजेन्सी,
प्रकाशित २०८२ पुष ३० बुधबार
737
Shares
तस्बिर : फाइल
काठमाडौँ। नेपालमा भित्रिने चिनियाँ पर्यटकका लागि डिजिटल भुक्तानी सेवा सहज, सरल तथा विश्वासिलो बनाउने उद्देश्यका साथ माछापुच्छ्रे बैङ्क लिमिटेडले टेनपे भुक्तानी प्रविधि कम्पनी लिमिटेड सँग प्रत्यक्ष सम्झौता गरेको छ। टेनपे भुक्तानी प्रविधि कम्पनी लिमिटेड चीनमा वीचैट पे (वेइक्सिन पे) सञ्चालन गर्ने ठूलो डिजिटल भुक्तानी सेवा प्रदायक कम्पनी हो।
उक्त सम्झौता पश्चात् माछापुच्छ्रे बैङ्कले वीचैट पे (वेइक्सिन पे) को माध्यमबाट अन्तर्राष्ट्रिय भुक्तानी सेवा प्रदान गर्नेछ। जस अन्तर्गत चिनियाँ पर्यटकहरूले नेपालमा चिनियाँ मुद्रा (सीएनवाई) प्रयोग गरी भुक्तानी गर्न सक्नेछन् भने नेपाली व्यापारीहरूले सोझै नेपाली रुपैयाँ (एनपीआर) मा रकम प्राप्त गर्नेछन्।
यसरी चिनियाँ पर्यटकले प्रत्यक्ष रूपमा कारोबार गर्न सक्ने हुँदा पर्यटन, खुद्रा व्यापार तथा सेवा क्षेत्रमा सहज र सुरक्षित डिजिटल कारोबारलाई प्रोत्साहन गर्ने विश्वास बैङ्कले लिएको छ।
यो सम्झौताले डिजिटल नेपाल फ्रेमवर्क तथा नेपाल राष्ट्र बैङ्कका विभिन्न रणनीतिक पहलहरूमा पनि टेवा पुर्याउने विश्वास बैङ्कले लिएको छ। साथै उक्त सम्झौताले वित्तीय डिजिटल समावेशीकरण, नगद–रहित अर्थतन्त्र र भुक्तानी पूर्वाधारको आधुनिकीकरणमा समेत उल्लेख्य भूमिका खेल्ने अपेक्षा गरिएको छ।