arrow

अर्थमन्त्री डा महत भन्छन् – भन्सार कर्मचारीको सोचमा परिवर्तन आउन जरुरी छ

logo
हाम्रा कुरा
प्रकाशित २०८० साउन २८ आइतबार
prakashsharan-mahat-2080-04-28a.jpg

काठमाडौँ । अर्थमन्त्री डा. प्रकाशशरण महतले बदलिँदो परिस्थितिअनुसार आम जनताको चासो र चिन्तालाई मध्यनजर राखेर भन्सारका कर्मचारी सक्रिय हुन आग्रह गरेका छन् । 

भन्सार विभागले आयोजना गरेको भन्सार व्यवस्थापन गोष्ठीमा बोल्दै मन्त्री डा. महतले भने, ‘सबैभन्दा पहिला कर्मचारीको सोचमा परिवर्तन आउन जरुरी छ । मलाई अधिकार छ, त्यसको दुरुपयोग गरे फरक पर्दैन भन्ने मानसिकता परिवर्तन हुनुपर्छ ।’ 

हाम्रा आयातकर्ता र करदाताहरुलाई अप्ठ्यारोमा पारेर व्यक्तिगत फाइदाका लागि कर्मचारीले बार्गेनिङ गर्न नहुने मन्त्री डा. महतले स्पष्ट पारे । उनले भने, ‘मैले धेरै भन्सार नाकाको भ्रमण गरे, कर्मचारीले त्यस किसिमको व्यवहार गरेर रिपोर्टिङ मन्त्रालयमा आइरहेको छ, यो गलत हो, बन्द हुनुपर्छ । राम्रो काम गर्ने कर्मचारी साथीहरु पनि हुनुहुन्छ । यी साथीहरुलाई एउटै बास्केटमा हालेर भन्सार नेतृत्वले मूल्यांकन गर्नु हुँदैन । कर्मचारीको भूमिकाको यथार्थ जानकारी राखेर नेतृत्वले मूल्यांकन गर्नुपर्छ’, मन्त्री डा महतको भनाइ छ ।

प्रविधिको उच्चतम उपयोग गर्नुको विकल्प नरहेको मन्त्री डा. महतले स्पष्ट पारे । वीरगन्ज भन्सारको उदाहरण दिँदै मन्त्री डा. महतले भने, ‘त्यहाँ ठूलो एक्सरे मेसिन प्रयोग नगरी वर्षौँ त्यत्तिकै थन्काइएर राखिएको छ । त्यसको प्रयोग भयो भने हाम्रो के काम ? भन्ने कुरा कर्मचारीबाट सुनियो । अब त्यसरी हुँदैन । अहिलेको परिवेशमा यो मानसिकता परिवर्तन हुनुपर्छ ।’

इमान्दार भएर कर्मचारीले काम गरे लक्ष्यमा पुगिने मन्त्री डा. महतले बताए । ‘लक्ष्यमा पुग्नै पर्ने भनेर हाम्रा आयातकर्ता र करदातालाई जथाभावी दुःख दिएर काम गर्नुपर्छ भनिएको छैन,’ मन्त्री डा. महतले भने, ‘कानूनतः काम गरियो भने पनि हामी लक्ष्यमा पुग्न सक्छौँ ।’

साउनमा लक्ष्य ८० प्रतिशत पुग्यो भनिएको छ । गत वर्ष ६० प्रतिशत उठ्यो । हामीले अझ इमान्दार भएर काम गरियो भने सय प्रतिशत नै लक्ष्यमा पुग्न सकिने मन्त्री डा. महतले बताए । अहिलेको परिस्थितिमा आर्थिक गतिविधि बढ्नुपर्ने मन्त्री डा. महतको भनाइ छ । 

लक्ष्यभन्दा बढी पनि भन्सार राजस्व उठाउन सक्ने र जति बढाउन सकियो, त्यत्ति नै राम्रो हुने मन्त्री डा महतले बताए । 

उनले भने, ‘जिम्मेवारीमा सम्झौता नगरी यसका काममा व्यवसायिकता, सम्मान र समर्पित हुनुपर्छ । कुनै पनि बहानामा सार्वजनिक फाइदाभन्दा निजी फाइदाका लागि काम गर्नु हुँदैन ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ