arrow

दोलखामा अविरल वर्षाका कारण तीनको मृत्यु, चार बेपत्ता

logo
हाम्रा कुरा
प्रकाशित २०८० साउन २९ सोमबार
pahiro-dolkha.JPG

दोलखा ।  दोलखाका विभिन्न स्थानमा गरी अविरल वर्षाका कारण पहिरोमा परी यो साता मात्रै तीन जनाको मृत्यु भएको छ । त्यस्तै चार जना अझै बेपत्ता छन् । 

अविरल वर्षापछि आइतबार दिउँसो आएको भेलले बगाउँदा दोलखाको बिगु गाउँपालिका-७ राखामका बाबुछोरा बेपत्ता भएका छन् । 

आइतबार बिहान घरबाट झन्डै एक घन्टाको दूरीमा रहेको तीनपाटेमा निगुरो टिप्न गएका अन्दाजी ३५ वर्षीय निमदोर्जे शेर्पा र उनको छोरा अन्दाजी १२ वर्षीय पासाङ शेर्पालाई वर्षासँगै आएको भेलले बगाउँदा बेपत्ता भएको वडाध्यक्ष दलबहादुर श्रेष्ठले बताए ।

आइतबार १२ बजेतिर तीनपाटेमा निगुरो टिप्ने क्रममा अविरल वर्षासँगै माथिबाट आएको भेलले बाबुछोरोलाई अम्बाटोल मूलखोलामा पुर्‍याएकाले बेपत्ता भएको वडा नं श्रेष्ठले जानकारी दिए ।

शेर्पा बाबुछोरालाई बगाएको खबर पाउनेबित्तिकै गाउँलेले खोजी सुरु गरेको भए पनि अविरल वर्षाकै कारण भेट्न समस्या भएको स्थानीयवासीको भनाइ छ । बेपत्ता बाबुछोराको घरमा अहिले बूढी आमैमात्र रहेको स्थानीयवासीले बताएका छन् ।

जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी नायब उपरीक्षक दीपक खड्काले शेर्पा बाबुछोरालाई वर्षासँगै आएको भेलले बगाएको खबर प्राप्त भएलगत्तै प्रहरी घटनास्थल पुगेर खोजी सुरु गरेको बताए । 

अविरल वर्षा जारी रहेकाले खोजीकार्य प्रभावित भएको प्रहरीको भनाइ छ । यो सातामा मात्रै अविरल वर्षाका कारण गत मङ्गबार तामाकोशी नदीमा तीतेमाछा टिप्न गएको बिगुगापा-२ ओराङका तिरिस तमाङको माथिबाट झरेको पहिराले ज्यान गएको थियो । 

गत बिहीबार गौरीशङ्कर गाउँपालिका-७ मार्बु टोपाटारमा गएको पहिरामा परी सोही स्थानका ५० वर्षीय देवीमाया मगर र १५ महिने नाबालक प्रिन्स थामीको मृत्यु भएको छ भने टोपाटारकै पहिरामा परि अझै दुुई बेपत्ता छन् । बेपत्ता हुने टोपाटरकै ६० वर्षीय कृष्ण मगर र ४९ वर्षीय हरिला श्रेष्ठ अझै फेला नपरेको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ