arrow

पस्यो कागबेनीमा बाढी : तीन वटा घर, पुल र सडक बगायो

logo
हाम्रा कुरा
प्रकाशित २०८० साउन २९ सोमबार
kagbeni.PNG

म्याग्दी ।  मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिका-४ कागबेनीमा आएको बाढीले यहाँको भौतिक संरचनामा ठूलो क्षति पुर्‍याएको छ । आइतबार साँझ आएको बाढीले यहाँका घर, सडक एवं सार्वजनिक भवनमा क्षति पुर्‍याएको हो ।

गाउँपालिकाको केन्द्रसमेत रहेको धार्मिकस्थल कागबेनीमा राति ८ बजे कागखोलामा आएको बाढी पसेर घर, सडक, सार्वजनिक भवन र पुलमा क्षति गरेको हो । बारागुङ मुक्तिक्षेत्र गाउँपालिकाका अध्यक्ष रिनजिन गुरुङले करिब एक सय घरधुरी रहेको कोगबेनीको बीच बस्तीमा कागखोलाको बाढी पसेको जानकारी दिए । 

“राति ८ बजे कागखोलामा आएको बाढी बस्तीमा पसेर भागाभाग भएको छ”, उनले भने, “तीन वटा घर, तीन वटा पुल र सडक बगाएको छ । खोला आसपासका धेरै घरमा बाढी पसेको छ । स्थानीयवासीहरुलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिरहेका छौँ । राति भएकाले सबै क्षतिको विवरण सङ्कलन गर्न सकिएको छैन ।”

मानवीय क्षति नभए पनि भौतिक संरचनामा धेरै क्षति भएको अध्यक्ष गुरुङले बताए । कागबेनीभन्दा केही माथि रहेको तिरिखोला थुनिएर बाढी आएको गाउँपालिकाले जनाएको छ । नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी, जनप्रतिनिधिहरु उद्धारमा परिचालन भएका छन् । 

खम्बा बगाएकाले विद्युत् सुविधा अवरुद्ध भएको छ । कागबेनी हुँदै उपल्लो मुस्ताङ जाने सडक अवरुद्ध बनाएको छ । सिँचाइको नहर, गुम्बामा पनि बाढीले क्षति गरेको छ । मुक्तिनाथबाट बगेर आउने कागखोला कागबेनीको बीच भागमा छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ