arrow

विनोद चौधरीलाई एसियन अवार्ड ‘फिल्यान्थ्रोपिस्ट अफ दि इयर २०२३’ बाट सम्मान गरिने

logo
हाम्रा कुरा
प्रकाशित २०८० साउन ३१ बुधबार
binod-chaudhary-2080-04-31.jpg

काठमाडौँ । चौधरी ग्रुपका अध्यक्ष एवं सांसद विनोद चौधरीलाई एसियन अवार्डले ‘फिल्यान्थ्रोपिस्ट अफ दि इयर २०२३’ बाट सम्मान गर्ने भएको छ । 

दुबईस्थित म्यूजियम अफ दि फ्युचर भवनमा अक्टोबर ७ तारिखमा यस अवार्डका पूर्व विजेता, सेलिब्रेटी र प्रतिष्ठित अतिथिहरूकाबीच हुने एक भब्य समारोहमा यस अवार्डबाट चौधरीलाई सम्मान गर्ने कार्यक्रम छ । 

एसियन अवार्डले व्यवसाय, कला, प्रविधि, राजनीति, खेलकुद र समाजसेवामा उत्कृष्ट योगदान पुर्याउने प्रतिभालाई सम्मान गर्दै आएको छ । 

यस अवार्डबाट यसअघि आर्ट अफ लिभिङका संस्थापक श्री श्री रविशंकर, सर वेन किङ्स्ले, ब्रुसली, सचिन तेन्दुलकर, ज्याकमा, मदर टेरेसा, फ्रेडी मर्करी, अभिनेता ज्याकि च्यानलगायत सम्मानित भएका छन् । 

नेपालका एकमात्र फोब्र्समा सूचीकृत अर्बपति उद्योगी एवं समाजसेवी चौधरीले फाउन्डेसनमार्फत नेपालमा प्रभावकारी रुपमा सामाजिक कार्यहरु गर्दै आएका छन् । 

नेपालमा सन् २०१५ मा गएको महाभूकम्पका समयमा भूकम्प पीडितका लागि करिब तीन हजार घर बनाएर भूकम्पबाट अत्यन्तै प्रभावित १० जिल्लाका पीडितहरुलाई हस्तान्तरण गरेका थिए । 

त्यस्तै, चौधरी फाउन्डेसनले सिन्धुपाल्चोकको गिरान्चौरमा ६१ ओटा पक्की घर निर्माण गरेको थियो । 

भूकम्पका बेलामा गरेको योगदानमाथि फोब्र्स एसियाले विनोद चौधरीको कभर स्टोरी छापेको थियो ।
 
विनोद चौधरीको नेतृत्वमा रहेको चौधरी फाउन्डेसनले सन् २०१९ मा शुरु भएको कोभिड महामारी पश्चात् कोभिड प्रभावित सर्वसाधारण नेपाली नागरिकको उपचारलाई सहज बनाउन वीर अस्पतालमा १८ बेडको आईसीयू निर्माण गरी सञ्चालनमा ल्याएको थियो । 

कोभिड महामारीको समयमा आईसीयू बेडको अभावमा उपचार गर्न नपाएका सर्वसाधारण नागरिकका लागि उक्त वार्ड निर्माणले ठूलो राहत पुगेको थियो । 

फाउण्डेसनले कान्तिबाल अस्पतालको आकस्मिक वार्ड (इमर्जेन्सी वार्ड) निर्माण गरी हस्तान्तरण गरेको थियो । 

त्यस्तै चौधरी फाउन्डेसनले सरकारलाई पीसीआर रिएजेन्ट र भेन्टिलेटरहरू पनि सहयोग गरेको थियो । 

अहिले चौधरी फाउण्डेसन नेपालका दुर्गम क्षेत्रमा स्वास्थ्य सेवा प्रभावकारी बनाउन स्थानीय अस्पतालहरुको गुणस्तर अभिवृद्धि गरी स्थानीय नागरिकले घर नजिकै गुणस्तरीय सेवा पाउने वातावरण बनाउन लागिरहेको छ ।

चौधरी फाउन्डेसनले शिक्षा, स्वास्थ्य, विपत् व्यवस्थापन, उद्यमशिलता विकास, सीप र जीविकोपार्जन, महिला सशक्तिकरण, आध्यात्मिक एवं सम्पदा संरक्षण क्षेत्रमा काम गर्दै आएको छ ।
चौधरी एक सफल नेपाली उद्योगी, लेखक, राजनीतिज्ञ तथा समाजसेवी हुन् । 

नेपाली कांग्रेसका केन्द्रीय सदस्यसमेत रहेका चौधरी नवलपरासी पश्चिमबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित सांसद रहेका छन् । 

अन्तर्राष्ट्रिय रुपमा ख्यातीप्राप्त चौधरीको आत्मकथा विश्वका विभिन्न सात भाषामा प्रकाशित छ । 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ