महोत्तरी । राष्ट्रिय मधेस समाजवादी पार्टीका राष्ट्रिय अध्यक्ष शरतसिंह भण्डारीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्की्विरुद्ध संसद् सचिवालयमा दर्ता भएको महाअभियोग प्रस्ताव प्रमुख तीन दलको नौटङ्की भएको बताएका छन् ।
आइतबार विहान महोत्तरीको गौशाला पुगेका अध्यक्ष भण्डारीेले पत्रकारसँग कुरा गर्दै प्रमुख आयुक्त कार्कीलाई महाभियोग लगाउने योजना नेपाली काँग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रको फोहोरी खेल भएको आरोप लगाए ।
यसअघि सद्भावना पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्णले समेत चार मुख्य ठेकेदारहरुको मुद्दा फिर्ता लिए महाभियोग प्रस्ताव तुहिने बताएका थिए । राजधानीमा अयोजित एक कार्यक्रममा कर्णले मुख्य चार दललाई ठेकेदारको संज्ञा दिँदै ती दलका नेताहरुले गरेको कालो कामका मुद्दा फिर्ता गरे यो सबै प्रक्रिया तुहिने बताएका थिए । मधेसी दल र तीनका कार्यकर्ताहरु लोकमानसिंह कार्कीको पक्षमा छन् ।
फरक प्रसङ्गमा अध्यक्ष भण्डारीले संविधान संशोधन नगरी कुनै पनि हालतमा चुनाव हुन नदिइने बताए । मधेस केन्द्रीत दलहरु छिमेकी भारतको आडमा शीर्ष दलहरुलाई विभिन्न चंगुलमा फसाएर आफु हावी हुन लागि परेको विश्लेषण समेत भइरहेको छ । दोहोरो भूमिका खेल्ने उनीहरुको गतिविधिप्रति शंका गर्ने थुप्रै ठाउँ रहेको जानकारहरु बताउँछन् ।
संसदको मान मर्दन गर्न पछि नपरेका र नागरिकलाई सास्ती दिन पछि नपर्ने उनीहरुविरुद्ध मधेसकै नागरिक आजित भइसकेका छन् । दुईचार जना नेताको हठका कारण पिल्सिएका मधेसी नागरिक झन मर्कामा परेका मधेसकै जानकारहरु ठोकुवा गर्दछन् ।