arrow

खानीगाउँ पहिरोको जोखिममा

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ १ शुक्रबार
khani-gaun-gorkha.jpg

गोरखा । उत्तरी गोरखाको धार्चे गाउँपालिका-७ खानीगाउँ पहिराको जोखिममा छ ।

पहिरोका कारण बस्ती भएको जमिन चिराचिरा परेको छ ।

यहाँ ३२ घर पहिरोको उच्च जोखिममा छन् ।

गाउँपालिकाकी उपाध्यक्ष सुनिला गुरुङका अनुसार बस्ती माथिको जमिन चिराचिरा परेको छ ।

जमिन खाल्डो पर्दै गएपछि बस्ती जोखिममा परेको उनको भनाइ छ ।

“विसं २०७२ वैशाखमा गएको भूकम्पले खानीगाउँको जमिनमा चिरा पर्न थालेको हो”, उपाध्यक्ष गुरुङले भनिन्, “केही दिनअघि परेको वर्षाले झन जोखिमपूर्ण बनेको छ ।”

वर्षाले जमिन भासिँदै गएपछि अधिकांश घरको भित्रि भागमा चिरा परेको छ ।

घरको जगसमेत तलतल सर्दै गएको छ ।

घरभित्र एक बित्तासम्म चिरा परेपछि बास बस्न स्थानीय डराउने गरेका उनले बताइन् ।

“पहिरोको जोखिम बढेपछि बास बस्न खतरा छ, घरभित्र पसे अत्यास लाग्ने अवस्था छ”, उपाध्यक्ष गुरुङले भनिन्, “राति बास बस्न छिमेकीको घरमा जानुपर्ने बाध्यता छ ।”

पहिराको त्रासले स्थानीयवासी साँझपख छिटोछिटो घरमा खाना खाएर ओड्ने ओछ्याउने बोकेर आफन्तकहाँ बास बस्न जाने गरेका उनको भनाइ छ ।

केही परिवार विद्यालयमा बास बस्न थालेका छन् ।

बस्ती खाली गरेर अन्यत्र सर्न स्थानीयवासीलाई गाउँपालिकाले आग्रह गरेको छ ।

पहिरोले खानीगाउँका ३२ परिवारका एक सय पाँच जना प्रभावित भएका छन् । -रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ