arrow

माओवादीका जिल्ला इञ्चार्जहरु फेरिए

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ ४ सोमबार
Devendra Poudel.jpg

पोखरा । जनतासँग माओवादी विशेष रुपान्तरण अभियान सञ्चालन गरेको नेकपा (माओवादी केन्द्र)ले गण्डकी प्रदेशका जिल्ला इञ्चार्जहरु हेरफेर गरेको छ । 

माओवादी केन्द्र गण्डकी प्रदेशको बैठकले जिल्ला इञ्चार्जहरुको जिम्मेवारी हेरफेर गरेको नेकपा माओवादी केन्द्र गण्डकी प्रदेशले आइतबार पोखरामा पत्रकार सम्मेलन गरेर जानकारी दिएको हो ।

कमजोर माओवादीलाई सुदृढ र बलियो बनाउनका लागि भन्दै नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठकले भदौ १६ गतेदेखि तीन महिने जनतासँग माओवादी विशेष रुपान्तरण अभियान सञ्चालन गर्दैछ । 

सोहि अभियानलाई सफल बनाउने उद्देश्यले जिल्ला इञ्चार्जहरुको जिम्मेवारी हेरफेर गरिएको नेकपा माओवादी केन्द्र गण्डकी प्रदेशका ईञ्चार्ज तथा पार्टीका केन्द्रीय सचिव देवेन्द्र पौडेलले जानकारी दिए ।

वर्षौंदेखि एकै व्यक्ति एउटै जिल्लामा रहँदा पार्टीमा गुट, उपगुट मौलाएको र सोही कारण नेता कार्यकर्तामा उत्साह आउन नसकेको भन्दै कार्यकर्ताले गुनासो गर्ने गरेका थिए । 

सोही गुनासोलाई मध्यनजर गर्दै माओवादी गण्डकीले जिल्ला ईञ्चार्ज फेर्ने निर्णय गरेको हो ।

नेकपा माओवादी केन्द्रले कास्की जिल्ला ईञ्चार्ज राजकाजी गुरुङलाई स्याङ्जा जिल्ला ईञ्चार्ज तोकेको छ । 

लामो समयदेखि कास्की पार्टीको ईञ्चार्ज तथा पार्टीका केन्द्रीय सदस्य उनलाई स्याङ्जा पठाएपछि उनको ठाउँमा पर्वतका नेत्रनाथ अधिकारीलाई ल्याइएको छ । 

अधिकारी गण्डकी प्रदेशका पूर्व सभामुख तथा पार्टीका केन्द्रीय सदस्य हुन् । 

पार्टीका पोखरा महानगरपालिका ईञ्चार्ज दीपक कोईरालालाई माओवादीले गोरखा जिल्ला ईञ्चार्ज बनाएर पठाएको छ ।

माओवादीले बागलुङकी बलावती शर्मालाई पर्वत जिल्ला ईञ्चार्जको जिम्मेवारी तोकेको छ भने स्याङ्जा जिल्ला ईञ्चार्ज शैलेन्द्र घिमिरेलाई तनहुँ जिल्ला ईञ्चार्जको जिम्मेवारी तोकेको छ । 

माओवादीले तनहुँकी आशा खनाललाई लमजुङ जिल्ला ईञ्चार्ज, पर्वतका गुप्तबहादुर हमाललाई म्याग्दी जिल्ला ईञ्चार्ज बनाएको छ । 

यसैगरी, मनाङमा बुद्धिराम गुरुङ, नवलपुरमा कास्कीका अमर तमु, बागलुङान गोविन्द पौडेल, र मुस्ताङमा कपिल लामालाई माओवादीले जिल्ला ईञ्चार्ज बनाएको छ ।

माओवादीले प्रत्येक जिल्ला ईञ्चार्जलाई सो जिल्लाको कुने एउटा पालिकाको ईञ्जार्जको जिम्मेवारी पनि सुम्पेको छ ।

बैठकले प्रदेशका सबै जिल्ला हेर्ने जिम्मेवारी प्रदेश ईञ्चार्ज देवेन्द्र पौडेललाई तोकेको छ भने केन्द्रीय सदस्य यशोदा सुवेदीलाई नवलपुर, तनहुँ, गोरखा, लमजुङ र मनाङ जिल्ला तथा हरि अधिकारीलाई मुस्ताङ, म्याग्दी, बागलुङ, पर्वत, कास्की र स्याङ्जा जिल्ला हेर्ने जिम्मेवारी दिएको छ । 

त्यसैगरेर प्रदेश अध्यक्ष गायत्री गुरुङलाई जातीय मोर्चाको जिम्मेवारी तोकेको छ भने अटिन्द्र केशरी न्यौपानेलाई कार्यालयसँगै प्रेस सेन्टर गण्डकीको फ्रयाक्सन इञ्चार्ज तोकेको जनाइएको छ ।

माओवादीले जिल्ला ईञ्चार्जसँगै प्रदेशका सबै पालिका तथा वडाहरुको ईञ्जार्चको जिम्मेवारीपनि हेरफेर गरेको छ । 

जसअनुसार कास्कीको पोखरा महानगरपालिकाको ईञ्चार्ज स्याङ्जा जिल्ला ईञ्चार्ज पारसमणी पौडेललाई दिइएको छ । 

अन्नपूर्ण गाउँपालिका इन्चार्जमा परशुराम रम्तेल, मादी गाउँपालिकामा धना तमु र रुपा गाउँपालिकामा सतिमाया गुरुङलाई ईञ्चार्ज तोकिएको प्रदेश ईञ्चार्ज पौडेलले जानकारी दिए । 

कास्कीकै माछापुच्छ्रे गाउँपालिका इन्चार्जको जिम्मेवारी भने कास्की जिल्ला इन्चार्ज नेत्रनाथ अधिकारीलाई नै तोकिएको उनले बताए ।

माओवादीको जनतासँग माओवादी विशेष रुपान्तरण अभियानका लागि पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसमेत आउने भएका छन् । 

प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष प्रचण्ड वडासम्मै पुग्ने योजना अन्तर्गत उनी बारपाक सुलिकोट वडा नं. ८ मा आउने भएका हुन् । 

प्रचण्ड पुग्ने वडा माओवादी जनयुद्धका प्रथम सहिद दिलबहादुर रम्तेलको वडा हो । 

माओवादीले प्रदेशका सबै केन्द्रीय सदस्य, प्रदेश पदाधिकारी तथा सदस्यहरुलाई जिम्मेवारी दिएर फिल्डमा खटाउने निर्णय गरेको प्रदेश ईञ्चार्ज पौडेलले जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ