arrow

ललिता निवास जग्गा प्रकरण

माधव र बाबुरामसँग सीआईबीले लियो घरमै पुगेर बयान

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ ४ सोमबार
madhav-baburam-lallita-niwas.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । ललिता निवास जग्गा प्रकरणबारे केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईसँग बयान लिएको छ । 

आइतबार राति पूर्वप्रधानमन्त्रीद्वय नेपाल र भट्टराईसँग सीआईबीले बयान लिएको हो । सीआईबीको टोली उनीहरुको घरमै पुगेर बयान लिएको हो । सोमबार बिहान एक ट्वीट सन्देशमार्फत डा. भट्टराईले ललिता निवास प्रकरणमा आफ्नो संलग्नताबारे सीआईबीलाई जानकारी दिएपछि मात्रै बयान लिएको खुलेको थियो । 

उनले लेखेका छन्, ‘ललिता निवास प्रकरणमा मेरो पालाको मन्त्रिपरिषदको निर्णय सम्बन्धमा उठेका प्रश्नहरूवारे सत्यतथ्यको जानकारी मेरो शुरुदेखिको सार्वजनिक प्रतिबद्धता बमोजिम केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) लाई दिएर आफ्नो कर्तव्य निर्वाह गरेको छु । यो मुद्दा सफल टुंगोमा पुगेर देशमा सबै तहका सबै प्रकारका भ्रष्टाचार तथा अनियमितता अन्त्य गर्न र सुशासनको प्रत्याभूति गर्न गराउन एउटा दरो प्रस्थानविन्दु बनोस् भन्ने कामना गर्दछु ।’ 

माधव नेपालको सचिवालयले पनि सीआईबीको टोली घरमा आएर बयान लिएको पुष्टि गरेको छ । ललिता निवासको जग्गा व्यक्तिका नाममा लैजाने गरी मन्त्रिपरिषद्बाट भएका निर्णयमा संलग्न भएकामाथि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले बयान लिने तयारी गरिरहेका बेला सत्ता गठबन्धन दलको दबाबमा नेपाल र भट्टराईसँग बयान नलिइ अनुसन्धान टुंग्याउन लागेको थियो । तर चौतर्फी दबाब बढेपछि बयान लिएको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ