arrow

लुँडेखोला करिडोरमा ठेकेदारको मनमौजी, सास्ती पासिकोटवासीलाई

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ ६ बुधबार
pasikot-sadak-2080.jpg

काठमाडौँ । यसै त बर्खायाम त्यसमाथि ठेकेदारले बाटो अलपत्र पारिदिएपछि बूढानीलकण्ठ नगरपालिका वडा नम्बर ६ का स्थानीयवासीलाई चिन्ताले पिरोलेको छ । 

लुँडे खोला करिडोरमा करिब ५० मिटरको बाटोमा गोर्खाली पुलसँगै दुईतर्फ ढुङ्गाको पर्खाल लगाउन ठेकेदारले मनमौजी गरेपछि स्थानीय बाटो बन्द हुँदा पीडा खेप्न बाध्य भएका छन् । 

एक स्थानीयका अनुसार बाटो ठेकेदारले बन्द गरेको तीन महिना भयो । तर यस नगरपालिकादेखि वडालेसमेत वास्ता नगरेको स्थानीयको गुनासो छ । ठेकेदारले सिमेन्ट, फर्मा र डोजर बाटोमै छेकेर राखेको छ । 

यतिसम्म कि अत्यावश्यक पर्यो भने एम्बुलेन्ससमेत कहाँबाट जाने भनेर आपत छ । विद्यालय जानसमेत बालबालिकाले जोखिम मोलेर हिँड्नु पर्ने अवस्था छ । जसका कारण सम्पूर्ण पासिकोट क्षेत्रको आवागमन प्रभावित भएको छ । 

अर्का एक स्थानीय भन्छन्, ‘ठेकेदार को हो र कहाँ छ हामीले देखेका छैनौँ । वडा र नगरपालिकाको मिलिभगत नै त हैन भन्ने आशंका हामीलाई बढाएको छ ।’ उनले भने, ‘मात्र एकघण्टा डोजर चलाइदिने हो भने बाटो बन्ने थियो । तर पासिकोटवासीलाई दुःख दिने नियत देखियो ।’

ठेकेदारका सम्बन्धमा जानकारी लिन खोज्दा नगरपालिकाका सूचना अधिकारी केदारकुमार खड्काले पनि फोन उठाएनन् । 

वडाध्यक्ष रवि खड्काले फोन उठाएनन् । वडासदस्य राजु भण्डारीसँग भने सम्पर्क भयो । उनले आफूलाई यसबारेमा धेरै जानकारी नभएको र स्थानीयको कुनै गुनासोसमेत आफूले नसुनेको बताए । 

सो बाटोको निर्माण सम्बन्धमा भने त्यो प्रदेशको बजेट भएको उनले उल्लेख गरे । पुरानो ठेकेदारले काम सकाएर नयाँ आएकाले आफूलाई त्यसबारेमा जानकारी नभएको उनले बताए । 

यद्यपि उनले स्थानीयबाट कुनै गुनासो आउनासाथ आफू नै फिल्डमा गएर उनीहरुको समस्याको समाधान गर्न लागिपर्ने बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ