श्रीकृष्ण सिग्देल, स्याङ्जा । स्याङ्जामा दशै र तिहारको समयमा नागरिकता र राहदानी लिनेको भीड लागेको छ । दशैं र तिहार मनाउन घरमा आएका युवायुवतीहरु विदाको मौका छोपेर नागरिकता र राहदानी बनाउने समय मिलेकाले भीड लागेको हो ।
दशैं पछि जिल्ला प्रशासन कार्यालय स्याङ्जा र इलाका प्रशासन कार्यालय वालिङमा दिनहुँ सेवाग्राहीको भीड लागेको छ । अन्य समय जिल्लाबाहिर रहि क्याम्पस पढ्ने र रोजगारी गर्नेले दशैं र तिहारको विदाको सदुपयोग गर्दै नागरिकता र राहदानी लिने भएकाले पनि सेवा ग्राहीको चाँप बढेको प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्थी बताउँछन् ।
जिल्ला प्रशासन कार्यालयबाट भन्दा पनि इलाका प्रशासन कार्यालयबाट नागरिकता र राहदानी लिनेको संख्या बढी देखिन्छ । अहिले दैनिक ७० देखि ८० जना सम्मले नागरिकता र राहदानी लिने गरेको प्रशासनले जनाएको छ ।
इलाका प्रशासन कार्यालयतिर अधिकांश वैदेशिक रोजगारीमा जानेहरु रहेकाले राहदानी र नागरिकता लिनेको चाप बढेको प्रजिअ पन्थीको भनाई छ ।
जिल्ला प्रशासन कार्यालय स्याङ्जा र इलाका प्रशासन कार्यालय वालिङबाट गत आर्थिक वर्ष २०७२–२०७३ मा नागरिकता १५ हजार ६ सय ६७ जनाले नयाँ र प्रतिलिपि लिएका छ ।
राहदानी १३ हजार ४ सय ४३ जनाले लिएको तथ्याङ्क छ । सोही आर्थिक वर्षमा जिल्ला प्रशासनबाट ४ हजार ६ सय ६० जनाले नागरिकता प्राप्त गरेका छन् भने वालिङबाट ५ हजार ५ सय ९५ जनाले नागरिकता प्राप्त गरेको देखिन्छ ।