काठमाडौं । भारत–पाकिस्तान सीमावर्ती क्षेत्रमा बमबारी हुँदा १ भारतीय सैनिकसहित २ पाकिस्तानी नागरिकको मृत्यु भएको छ ।
पाकिस्तानी सैनिकले हमला हर्पल, पुखलियन, चार्वा र पाकिस्तानको पञ्जावलाई भारत प्रशासित काश्मिरबाट छुट्याउने विवादित क्षेत्रमा भएको जनाइएको छ ।
भारतीय सैनिकले भने सो हमला पुरा, पार्गवल र कनाचक क्षेत्रमा भएको बताएको छ आइतबार राति भएको सो हमलाको दुबै पक्षका सैनिक अधिकारीहरुले पुष्टि गरेका छन् ।
पाकिस्तानी सैनिकले आफ्नो दुई नागरिकको मृत्यु भएको जनाएकोमा एक जना १ वर्षिय नाबालक रहेको बताएको छ । साथै ७ जना नागरिक घाइते भएको पाकिस्तानले जनाएको छ ।
भारतले जम्मुमा रहेको पाकिस्तानी सेनाले गोली चलाउँदा आफ्नो सीमा सुरक्षा बलका एक सैनिकको मृत्यु भएको जनाएको छ । रोयटर्ससँग कुरा गर्दै सीमा सुरक्षा बलका प्रवक्ताले आफ्नो थप एक सैनिक घाइते भएको बताए ।
गत सेप्टेम्बरमा उरी हमलामा १९ जना भारतीय सैनिकको मृत्यु भएपछि यी दुई मुलुकबीच तनाव चुलिँदै गएको हो । भारतले सबै हमलाको दोष पाकिस्तानले लिनुपर्ने बताउँदै आएपनि पाकिस्तानले सधैं इन्कार गर्दै आएको छ ।
पछिल्लो समय भारत–पाकिस्तान तनावलाई लिएर केही अन्तर्राष्ट्रिय शक्तिहरु समेत यी दुई मुलुकको पक्ष–विपक्षमा उभिएका छन् । केही समय अघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ‘ब्रिक्स’ सम्मेलनमा बोल्दै पाकिस्तान आतंकवादको जननी रहेको खरो टिप्पणी गरेपछि चीनले उक्त टिप्पणीको खण्डन गर्दै पाकिस्तानको बचाउ गरेको थियो ।
चीन पाकिस्तानको पक्षमा आएपछि विश्व पावरहाउस अमेरिकाले भारतले सीमा क्षेत्रमा गरेको हमलालाई ढाडस दिँदै आफू भारतको पक्षमा रहेको संकेत गरेको थियो । -एजेन्सीकाे सहयाेगमा