arrow

हाम्रो कानूनी राज्यमाथि गैरकानूनी राज्यको दबाब छ : प्रधानमन्त्री दाहाल

इमान्दारहरुमाथि नै तरबार झुण्डिएको हुन्छ

logo
प्रकाशित २०७३ कार्तिक ८ सोमबार
sachibharulai-nirdesan-news.jpeg
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले काठमाडौं, ललितपुर र भक्तपुरको विकास एवं प्रशासन सञ्चालनमा एकीकृत र समन्वयात्मक काम गर्न निर्देशन दिएका छन् । 
 
सोमबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा भौतिक योजना तथा निर्माण, स्थानीय विकास, उर्जा, खानेपानी, अर्थ, गृह लगायतका मन्त्रालयका सचिव र सम्वद्ध अधिकारीहरुको संयुक्त बैठकमा प्रधानमन्त्री दाहालले भने, ‘हामी सबैले काम गरेका छौं । तर, हाम्रो काममा समन्वय छैन । खानेपानीले गरेको काम विद्युतलाई थाहा हुँदैन, भौतिक मन्त्रालयले गरेको काम स्थानीय विकासलाई थाहा हुँदैन । यसरी परिणाम निकाल्न सकिँदैन । तसर्थ, एकीकृत र समन्वयात्मक रुपमा काम गरेर परिणाम निकाल्नुस् ।’
 
बैठकमा प्रधानमन्त्री दाहालले गैरकानुनी राज्यले कानुनी राज्य कमजोर बनाएको भन्दै त्यसलाई चिर्न नयाँ संकल्प जरुरी भएको बताए । 
 
प्रधानमन्त्रीले भन्ने, ‘म यसो विचार गर्छु, हाम्रो कानुनी राज्यमाथि गैरकानुनी राज्यको दबाब छ, इमान्दारहरुमाथि तरबार झुण्डिएको महशुस हुन्छ । केही काम गर्न खोज्यो कि विभिन्न खालका अवरोध र दवाव आउँछ । तर, हामीले देशलाई केही दिने संकल्प गर्नैपर्छ । त्यसका लागि दृढ संकल्पका साथ कानुनी राज्य बलियो बनाउन लागौं । सरकार त्यसका लागि आवश्यक पर्ने कानुनी व्यवस्था गर्न तयार छ । हामीले देशलाई साक्षी राखेर केही परिणाम निकालौं ।’
 
बैठकमा प्रधानमन्त्रीले उपत्यकाको ट्राफिक व्यवस्था सहज बनाउन, सडकमा खाल्डाखुल्डी नराख्न, विद्युत्, खानेपानी, सडक लगायतका पूर्वाधार निर्माणमा समन्वय गरेर काम गर्न निर्देशन दिए । बैठकमा भौतिक योजना तथा यातायात मन्त्री रमेश लेखक, स्थानीय विकास मन्त्री हितराज पाण्डे, प्रधानमन्त्री कार्यालय र विभिन्न मन्त्रालयका सचिवहरु, सुरक्षा अंगका अधिकारीहरु लगायत उपस्थित थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ