arrow

पहिरोले खोटाङमा घर भत्कियो, दर्जनौँ पशुचौपाया मरे

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ ११ सोमबार
Khotang-hamrakura.jpg.jpeg

खोटाङ। अविरल वर्षाका कारण झरेको पहिरोले खोटाङमा एउटा घर पूर्णरुपमा क्षति भएको छ भने दर्जनौँ पशुचौपाया मरेका छन् । केही दिनदेखि लगातार परिरहेको वर्षाका कारण घरमाथिबाट झरेको पहिरोले दिप्रुङ चुइचुम्मा गाउँपालिका–२ डाँडागाउँ बोफ्लुका बुद्धिमान तामाङको घर पूर्णरुपमा क्षति भएको हो । 

पहिरोले तामाङको घर पुरिँदा रु तीन लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायब उपरीक्षक मञ्जिल मुकारुङले जानकारी दिए । गएराति झरेको पहिरोले तामाङको घरमा पूर्णरुपमा क्षति भए पनि मानवीय क्षति भने हुन नपाएको प्रहरीले जनाएको छ । कान्ले पहिरोले ऐसेलुखर्क गाउँपालिका–७ माक्पाका तेजबहादुर कामीको घरमा क्षति पुगेको छ । घरभन्दा तलबाट गएको पहिरोले कामीको घर अगाडिपट्टिको बरण्डा भत्किएको वडाध्यक्ष अरुण राईले जानकारी दिए । 

वर्षाका कारण झरेको पहिरोले गोठ भत्किँदा कामीको दुई वटा भैँसी, दुई वटा पाडा, एउटा गोरु र सात वटा खसी बाख्रा मरेका छन् । पहिरोबाट कामीको गोठमा भएको क्षतिको विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ । 

वर्षाका कारण गोठ ढल्दा दिप्रुङ चुइचुम्मा गाउँपालिका–५ सछितापोखरीका तीर्थबहादुर विश्वकर्माको एउटा गोरु मरेका छन् । ढलेको गोठले पुरिएर एउट गोरु र बाछो घाइते भएको वडाध्यक्ष डम्बरबादुर खड्काले बताए । गोठ भत्किँदा खोटेहाङ गाउँपालिका–८ सिम्पानीका राजेन्द्र प्रधानको एउटा भैँसी, एउटा पाडा र दुई वटा बोका मरेका छन् । प्रधानको रु तीन लाख आठ हजारको क्षति भएको प्रहरीले अनुमान गरेको छ । 

साकेला गाउँपालिका–३ खिदिमाका कुनुराम राईको एउटा लैनो भैँसी र एउटा पाडा पुरिएर मरेको जनाइएको छ । पहिरोबाट राईको अन्दाजी रु तीन लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ । वर्षाकै कारण हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिमस्थित राबुका देबेन्द्र राईको मतान भत्किँदा पाँच वटा खसी बाख्रा मरेको छ । 

सोही नगरपालिकाको वडा नं ७ महादेवस्थानका  कृष्ण कार्कीको बन्दै गरेको पक्की घर तथा डम्बर कार्की, कमानसिं रार्ई, बलबहादुर राई, केशव परियार र दीपक परियारको घरमुनीबाट पहिरो गएको र रमेश बस्नेतको घरमाथिबाट आएको पहिरोले छवटा घर उच्च जोखिममा परेको छ ।

जिल्लामा पहिरोका कारण भएका क्षतिको विवरण आउनेक्रम जारी रहेकाले कति क्षति भयो भन्ने यकिन हुन बाँकी रहेको प्रहरीले जनाएको छ । पहिरोले जिल्लाका सबै ग्रामीण सडक अवरुद्ध भएका छन् भने राष्ट्रिय राजमार्गका विभिन्न ठाउँमा पहिरो जानुका साथै भाएिर ठूलो क्षति भएको पाइएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ