काठमाडौं । अखिल नेपाल फुटबल संघको अध्यक्षमा नरेन्द्र श्रेष्ठ विजयी भएका छन् । कुल खसेको ६७ मत मध्ये नरेन्द्र श्रेष्ठले ३६ मत पाएका छन् भने, निकटतम प्रतिद्वन्द्वी कर्माछिरिङ्ग शेर्पाले ३१ मत पाए ।
यस्तै, उपाध्यक्षमा श्रेष्ठ पक्षधर मणि कुँवर विजयी भएका छन् । कुँवरले कुल मतको ३४ मत ल्याए । निकटतम प्रतिद्वन्द्वी दिपक खातीले २५ र स्वतन्त्र उम्मेद्वार उपेन्द्रमान सिंहले ८ मत पाए । खाती कर्माछिरिङ शेर्पा पक्षधर हुन् ।
एन्फाको नयाँ नेतृत्वमा आएका श्रेष्ठ विश्व फुटबल महासंघ फिफाको निलम्बनमा परेका गणेश थापा निकट मानिन्छन् । गणेश थापाले उपाध्यक्ष ललितकृष्ण श्रेष्ठको असामयिक निधन भएपछि मनोनित उपाध्यक्ष रहेका नरेन्द्र श्रेष्ठले २०७२ मंसिर ३ गते कार्यवाहक अध्यक्षको जिम्मेवारी सम्हालेका थिए । थापा निलम्बनमा परे पनि आफु पक्षधरलाई ल्याउन निकै कसरत गरेका थिए ।
थापाले नै एन्फामा ल्याएको भनिएका कर्माछिरिङ शेर्पा संगठनात्मक संरचना बलियो बनाउनु पर्ने भन्दै सुशासन र पारदर्शीताको वकालत गर्दै आएकामा उनले सोचे अनुसार नेतृत्व हस्तान्त्रण हुन सकेन । गणेश थापाको २१ वर्षे यात्रामा पूर्णविराम लागेपनि उनी पक्षधर नै एन्फा नेतृत्वमा आएकाले थापाको प्रभाव अझै रहेको अड्कल काटिएको छ ।
अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा)को इथिक्स कमिटीले भ्रष्टाचारको आरोपमा एन्फा अध्यक्ष गणेश थापालाई सोमबार १० वर्षको प्रतिबन्ध र २० हजार स्वीस फ्रयांक (करिब २१ लाख रुपैयाँ) जरिवाना गर्ने निर्णय गरेपछि श्रेष्ठ एन्फा प्रमुख बनेका थिए ।
एसियाली फुटबल महासंघले गणेश थापा फुटलमा लामो समय नेतृत्व गर्ने पहिलो व्यक्ति भएको बताएको थियो । अध्यक्षका लागि कार्यवाहक अध्यक्ष नरेन्द्र श्रेष्ठ र उपाध्यक्ष कर्माछिरिङ शेर्पा चुनावी मैदानमा थिए । यस्तै, एक उपाध्यक्षका लागि मणि कुँवर, दिपक खाती र उपेन्द्रमान सिंह मैदानमा थिए ।
काठमाडौंको बबरमहलस्थित कार्की पार्टी प्यालेसमा सोमबार बिहान ९ बजेदेखि शुरु भएको साधारणसभाले बन्दसत्र हुँदै मतदान प्रकिया अघि बढाएको थियो । यसैबीच, फिफा र एएफसीबाट आएका प्रतिनिधिले समेत निर्वाचन प्रक्रियाबाटै अध्यक्ष र उपाध्यक्ष चुन्नु राम्रो रहेको प्रतिक्रिया दिएका छन् ।