arrow

एसिया कप क्रिकेट

नेपाल–भारत मैदानमा, नेपाल ब्याटिङमा

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ १८ सोमबार
nepal-india-2023-09-04a.jpg

काठमाडौँ । पाकिस्तान र श्रीलंकाको संयुक्त आयोजनामा जारी एसिया कप क्रिकेटको १६ औँ संस्करणमा अहिले नेपालले भारतसँग खेलिरहेको छ । 

श्रीलंकाको पेल्लेकेले मैदानमा नेपालले टस हारेर पहिले ब्याटिङ गर्दैछ । खेलमा भारतीय कप्तान रोहित शर्माले टस जितेर पहिले फिल्डिङ रोजेसँगै नेपाल ब्याटिङमा आएको हो । 

यो खेल जिते नेपालले इतिहास रच्नेछ । नेपालले पहिलो पटक एसिया कप क्रिकेट खेलिरहेको हो । नेपाल विश्वका दुई पूर्व च्याम्पियनहरुसँग समूह चरणमा खेलिरहेको हो । 

पहिलो खेलमा नेपाल पाकिस्तानसँग २३८ रनले पराजित भएको थियो । पाकिस्तान र भारतबीच शनिबार भएको खेल वर्षाले प्रभावित भइ पूरा हुन नसक्दा रद्द भएको थियो । दुवैले १–१ अंक बाँडेसँगै पाकिस्तान ३ अंकसहित सुपर फोरमा पुगिसकेको छ । 

अब नेपाल र भारतबीच आजको खेलको नतिजाबाटै सुपर फोरमा पुग्ने अर्को टिमको टुंगो लाग्नेछ । 

यो खेलमा नेपाल विजयी भए विश्व क्रिकेटमा ठूलो फड्को मार्नेछ । पराजित भए पनि नेपालले सम्मानजनक खेल्दा विश्वको ध्यान खिच्नेछ । 

भारत भने दबाबमा हुनेछ । हालको वरीयताअनुसार विश्वकपको दुई पटकको विजेता भारत तेस्रो स्थानमा रहेको छ । नेपाल १५ औँ स्थानमा छ । 

नेपालले पहिलो पटक एसिया कप खेलिरहँदा भारतसँग पहिलो पटक खेल्दै गरेको हो । 

तर भारतको प्रतिष्ठा भने यो खेलमा गाँसिएको छ । यदि नेपालले यो खेल जित्यो भने अहिलेसम्मकै ठूलो सफलता हासिल गर्नेछ । 

नेपालले पाकिस्तानसँगको खेलमा शुरुआतमा सशक्त बलिङ गरेर पाकिस्तानलाई दबाबमा राख्न सफल भएको थियो । तर मध्यक्रमको ब्याटिङ चम्किएपछि पाकिस्तानले ३४२ रन बनाउन सकेको थियो । त्यसैगरी नेपालको ब्याटिङ भने निकै नै फितलो देखिएको थियो । 

पाकिस्तान विरुद्धको खेलका कमजोरी हटाएर मैदानमा प्रस्तुत हुने हो भने भारतसँग पनि टक्कर दिन सक्नेछ । 

यद्यपि श्रीलंकाको मौसम नै बिग्रिरहेकाले आजको खेल नतिजा आउनेमा शंका कायमै छ । 

सन् १९८४ देखि भइरहेको एसिया कपका १५ औँ संस्करणसम्म भारतले सात पटक, श्रीलंकाले छ पटक तथा पाकिस्तानले दुई पटक उपाधि जितेको छ । 

 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ