arrow

गगन थापाले गृहमन्त्रीलाई सोधे –  के हामीले काठमाडौँमा एक्लै हिँड्न नमिल्ने भएको हो ?

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ २१ बिहिबार
gagan-thapa-2080-05-21.jpg

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री एवं सांसद गगनकुमार थापाले सहमहामन्त्री महेन्द्र यादवमाथि भएको आक्रमणको गहिरो अनुसन्धान गर्न सरकारसँग माग गरेका छन् ।

प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले यो घटनालाई एउटा सन्काहाले प्रहार गरेको भनी भाष्य निर्माण गर्न खोजिदै गरेको भन्दै यसप्रति आपत्ति जनाउँदै गम्भीर भएर यो घटना किन भयो, कसरी भयो, यसका बारेमा राम्रोसँग अनुसन्धान होस् 
भनी सरकारसँग माग गरेका हुन् । 

उनले यो घटनासँगै जोडिएका अन्य पक्षहरुको पनि उजागर गर्नका लागि माग गरेका छन् । उनले गृहमन्त्रीलाई समेत प्रश्न गर्दै भने, ‘के हामीले काठमाडौँमा एक्लै हिँड्न नमिल्ने भएको हो ? कोही जलाइदिन्छु भन्छ, कोही खुकुरी हान्छ । हामी एक्लै हिँड्न हुने हो कि नहुने हो ?’

महामन्त्री थापाले ठाउँ ठाउँमा प्रधानमन्त्री र गृहमन्त्रीले बोलेको सुनेको भन्दै गम्भीर भएर भने, ‘यसलाई छाडिने छैन, यस्तो गरिने छ, म आग्रह गर्न चाहन्छु जिम्मा लिएकोले धेरै बोल्ने होइन गर्ने हो । हामीले परिणाममा हेर्न चाहन्छौँ । हामीले परिणाममा देख्यौँ भने त्यसको मूल्यांकन गर्ने संसद छ, नागरिक छ ।’

उनले सोधे, ‘प्रतिनिधि सभा सदस्य नै काठमाडौँमा सुरक्षित हुँदैन भने प्रधानमन्त्रीलाई गृहमन्त्रीलाई यो विषयले पोल्नु पर्छ कि पर्दैन ?’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ