arrow

नेपालगञ्जमा गरिबसँग स्थानीय सरकार

logo
सौरभ गिरी, 
प्रकाशित २०८० भदौ २२ शुक्रबार
garibsangasthaniyasarkar-nepaljung.jpg

नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकाले ‘गरिबसँग स्थानीय सरकार कार्यक्रम संचालन कार्यविधि २०८०’ को मस्यौदा तयार पारेको छ ।

 साझेदारी विकास कार्यक्रम सञ्चालन कार्यविधि २०७५ लाई प्रतिस्थापन गर्न बनेको ‘गरिबसँग स्थानीय सरकार कार्यक्रम संचालन कार्यविधि २०८०’ को मस्यौदा तयार पारिएको हो । 

यो कार्यविधि नगर कार्यपालिकाको बैठकबाट स्विकृत भई नेपालगञ्ज राजपत्रमा प्रकाशन भएपछि लागू हुने सामाजिक विकास शाखा प्रमुख कृष्णप्रसाद जोशीले बताए ।

उक्त कार्यविधिको मस्यौदा कार्यविधि संशोधन कार्यदलले सामाजिक विकास समिति संयोजक कौशलकुमार धोवीलाई हस्तान्तरण गरेको छ । कार्यदल संयोजक गोविन्दप्रसाद रेग्मीले उक्त मस्यौदा हस्तान्तरण गरेका हुन् । 

साउन २५ गते बसेको सामाजिक विकास समितिको बैठकले रेग्मीको संयोजकत्वमा लक्ष्मण बर्मा र बिना थापा सदस्य तथा जोशी सदस्य सचिव रहेको कार्यदल गठन गर्ने निर्णय गरेको थियो । उक्त कार्यदललाई १५ दिनको समय दिइएको थियो । 

कार्यदलले बुझाएको ‘गरिबसँग स्थानीय सरकार कार्यक्रम संचालन कार्यविधि २०८०’ को मस्यौदा सामाजिक विकास समिति संयोजक कौशलकुमार धोबीले नगर प्रमुख प्रशान्त विष्टलाई हस्तान्तरण गरेका छन् । 

अब नगर प्रमुख विष्टले तोक लगाएपछि उक्त मस्यौदा नगर कार्यपालिकामा प्रस्तुत हुनेछ । नगर कार्यपालिकाबाट पारित भएपछि राजपत्रमा प्रकाशित गरी कार्यान्वयनमा ल्याइनेछ । 

‘गरिबसँग स्थानीय सरकार कार्यक्रम’ मार्फत नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रमा बसोबास गरिरहेका लक्षित समुदायहरुमध्ये आर्थिक क्रियाकलापका दृष्टिले निष्क्रिय जनशक्तिहरुलाई व्यवसायिक गतिविधिहरुमा सरिक गराउन नवीनतम प्रविधि, ज्ञान र सीपका आधारमा व्यवसायिक लगानी योजना तयार गरेर उत्पादनमूलक व्यवसाय सञ्चालन गर्ने गरी प्रस्तावित योजनाका लागि कर्जा उपलब्ध गराइनेछ । 

शहरी सुशासन, जनसहभागिता प्रबद्र्धन र आर्थिक सशक्तिकरण गरी सबै नगरबासीहरुले देखेको आफ्नो समृद्धिको परिकल्पना साकार पार्न सक्ने गरी ‘गरिबसँग स्थानीय सरकार कार्यक्रम’ संचालन गर्न बाञ्छनीय देखिएको नेपालगञ्ज उपमहानगरपालिकाले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ