arrow

कांग्रेस केन्द्रीय समितिको बहस र ६ बुँदे निर्णय ? (पाठसहित)

logo
प्रकाशित २०७३ कार्तिक ९ मंगलबार
congress-party-office.jpg.jpeg
काठमाडौं । व्यवस्थापिका–संसद्को सबैभन्दा ठूलो दल नेपाली काँग्रेसले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीविरुद्धको महाअभियोग प्रस्ताव व्यवस्थापिका–संसदको विशेषाधिकारको विषय भएकोले आवश्यक प्रक्रियाबारे संसदीय दलबाट टुंगो लगाउने निर्णय गरेको छ । 
 
मंगलबार सकिएको पार्टीको केन्द्रीय समिति बैठकले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुखमाथि व्यवस्थापिका–संसदमा अचानक दर्ता भएको महाभियोगको प्रस्ताव बारे छलफलका क्रममा उठेका विषयहरुलाई मध्यनजर गर्दै हतार नगर्ने र आवश्यक कदमका लागि संसदीय दललाई जिम्मा दिने निर्णय गरेको हो । 
 
समसामयिक राजनीतिक विषयवस्तु र पार्टीको आन्तरिक सांगठनिक संरचनाबारे छलफल गर्न कार्तिक ४ गते देखि प्रारम्भ भएको बैठकमा ६०  जना सदस्यले आफ्नो धारणा राखेको कांग्रेस केन्द्रीय कार्यालयले जनाएको छ । 
 
अन्तिम दिन पार्टी सभापति शेरबहादुर देउवा, नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला, कोषाध्यक्ष सीतादेवी यादव र केन्द्रीय सदस्यहरु–खुमबहादुर खड्का, चित्रलेखा यादव, पूर्णबहादुर खड्का, प्रदीप गिरी, अम्बिका बस्नेत, शंकर भण्डारी, मीन विश्वकर्मा, सीता गुरुङ र केशवकुमार बुढाथोकीले आफ्नो धारणा राखे । 
 
बैठकको एजेण्डा मध्य चौथो नम्बरमा रहेको विविध भित्र महाअभियोगको प्रस्तावबारे बढी चर्चा भएको नेताहरुले बताएका छन् । कांग्रेसले संविधानअनुसार व्यवस्थापिका–संसद्मा महाभियोग प्रस्तावबारे छलफल आरम्भ भइसकेको र संविधानअनुसार न्यायिक निरुपणको बाटोमा रहेको भन्दै त्यसमा कुनै हस्तक्षेप नगर्ने नीति लिएको हो । बैठकमा सदस्यहरुको मिश्रित धारणा आएको थियो । कतिपयले कांग्रेसलाई फसाउनका लागि षड्यन्त्रपूर्वक ल्याइएको प्रस्ताव भने । केहीले हतारमा ल्याइएको प्रस्तावबारे राम्ररी नबुझि र पर्याप्त आधार नभई निर्णय लिन नहुने बताए । 
 
अर्कोतिर संसदको विशेषाधिकारको कुरामा पार्टीले ह्वीप लगाउन नमिल्ने भन्दै उपयुक्त निर्णय लिन नेतृत्वलाई सुझाव आयो । छलफलकै आधारमा संसदमा गठन भएको महाअभियोग सिफारिस समितिलाई नै निष्पक्ष र स्वतन्त्र रुपमा काम गर्न दिनुपर्ने निष्कर्ष निकालेको नेता दिलेन्द्रप्रसाद बडूले जानकारी दिए । 
 
उनका अनुसार बैठकले महाअभियोगका सम्बन्धमा अन्य पार्टीसँग परामर्श गर्ने जिम्मा शीर्ष नेतालाई दिइएको छ । पार्टीले हतारमा त्यस सम्बन्धमा कुनै निर्णय गरेर ह्विप जारी गर्नुपर्ने अवस्था नरहेको उनले बताए ।
 
बैठकमा सभापति देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलले महाअभियोग प्रस्तावका सम्बन्धमा संसद्मा समिति बनिसकेकाले तत्काल पार्टीले यसबारेमा कुनै निर्णय गर्नुपर्ने आवश्यकता नरहेको धारणा राखे । देउवा र पौडेलले महाअभियोगका सम्बन्धमा अन्य पार्टीसँग छलफल गरेरमात्र निर्णय लिइने विचार राखेका छन् । 
 
पार्टी संरचना
पार्टीका सबै तहका संरचना तथा भ्रातृ एवं शुभेच्छुक संस्थाहरुलाई संगठन सुदृढीकरणको लागि परिचालन गर्ने निर्णय भएको छ । पार्टीको नीति र कार्यक्रम एवं निर्वाचनको पक्षमा राजनीतिक वातावरण निर्माण गर्न, पार्टी संगठनको विस्तार एवं सुदृढीकरण गर्नका लागि सबै प्रदेशहरु र सबै जिल्लाहरुमा एक महिने अभियान संचालन गर्ने निर्णय भएको नेताहरुले बताएका छन् । यस्तै, त्यसका लागि केन्द्रीय सदस्यहरु समेत लाई प्रतिनिधि खटाउने निर्णय बैठकले गरेको छ । 
 
संविधान कार्यान्वयनको नेतृत्व लिने 
बैठकले सरकार गठनका बेला भएको सहमतिका आधारमा संविधान संशोधन गरेर संविधान कार्यान्वयनमा नेतृत्व लिने निर्णय गरेको छ । यस्तै, स्थानीय तहको पुनःसंरचनासम्बन्धी आयोगबाट पुनःसंरचनाको काम शीघ्र सम्पन्न गराई तत्काल स्थानीय तहको निर्वाचनका लागि पहल गर्ने निर्णय गरेको कांग्रेस प्रमुख सचेतक चिनकाजी श्रेष्ठले जानकारी दिए । 
 
बैठकका निर्णय 
१. संविधान संशोधनको विषयमा :
तराई—मधेश र थारू, आदिवासी जनजातिहरूको माग सम्बोधनका लागि सीमाङ्कन समेतका विषयमा संविधान संशोधन गरी २०७४ माघ ७ गतेभित्र स्थानीय, प्रादेशिक र संघीय निर्वाचन गराउने नेपाली कांग्रेसको पूर्व निर्णय रहेको सन्दर्भमा, आजको केन्द्रीय कार्यसमितिको बैठकले आन्दोलनकारी सबै दलहरु, प्रमुख प्रतिपक्षी दल र व्यवस्थापिका—संसद भित्रका सबै दलहरुसँग छलफल र गृहकार्य गरी शीघ्र संविधान संशोधनका लागि अग्रसरता लिने निर्णय गर्दछ । 
 
२. गाउँपालिका, नगरपालिका तथा विशेष, संरक्षित वा स्वायत्त क्षेत्रको संख्या तथा सीमाना निर्धारण सम्बन्धमा गठित आयोगले राजनीतिक दलहरुको सुझाव र सहमतिको आधारमा पुनःसंरचना कार्य यथाशीघ्र टुंगो लगाई निर्धारित समयमा स्थानीय निर्वाचन गराउने वातावरण निर्माण गर्न  ध्यानाकर्षण गराउँदछ । 
 
३. यसैबीच, अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुखमाथि व्यवस्थापिका–संसदमा अचानक दर्ता भएको महाभियोगको प्रस्ताव बारे बैठकमा छलफल भयो । सो प्रस्ताव व्यवस्थापिका–संसदको विशेषाधिकारको विषय भएकोले आवश्यक प्रकृयाको सम्बन्धमा नेपाली कांग्रेस संसदीय दलले छलफल गरी टुंगो लगाउने । 
 
४. पार्टीका सबै तहका संरचना तथा भ्रातृ एवं शुभेच्छुक संस्थाहरुलाई संगठन सुदृढीकरणको लागि परिचालन गर्ने निर्णय गर्दछ । पार्टीको नीति र कार्यक्रम एवं निर्वाचनको पक्षमा राजनीतिक वातावरण निर्माण गर्न, पार्टी संगठनको विस्तार एवं सुदृढीकरण गर्नका लागि सबै प्रदेशहरु र सबै जिल्लाहरुमा एक महिने अभियान संचालन गर्ने र यसका लागि केन्द्रीय सदस्यहरु समेत लाई प्रतिनिधि खटाउने निर्णय गर्दछ । 
 
५. नेपाली कांग्रेस केन्द्रीय क्रियाशील सदस्यता छानविन समितिले पार्टीको तेह्रौं महाधिवेशन पश्चात मात्र लागू हुने गरी स्वीकृत गरेका नयाँ तर्फका क्रियाशील सदस्यताको नामावलीको सूचीलाई कार्यान्वयनका लागि पार्टीका सम्बन्धित निकायमा पठाउने । 
 
६. शुभ दिपावली, नेपाल सम्वत् र छठ्को सुखद् उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा सुस्वास्थ, दीर्घायु, सुख, शान्ति र उत्तरोत्तर प्रगतिका लागि कार्यसमितिको यो बैठक हार्दिक शुभकामना प्रकट गर्दछ । 
 
शोक प्रस्ताव
आधुनिक थाइल्याण्डका अभियन्ता एवं थाइल्याण्डका जनताका आस्था र निष्ठाका केन्द्र राजा भूमिबल अदुल्यादेजको निधनप्रति नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको यो बैठक गहिरो दुःख व्यक्त गर्दछ । थाइल्याण्डको आर्थिक विकासमा उहाँको महत्वपूर्ण योगदान रहेको थियो । राजा भूमिबल अदुल्यादेजप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै थाई सरकार, त्यहाँका जनता तथा उहाँका शोकाकुल परिवार एवं आफन्तजनहरुप्रति नेपाली कांग्रेस हार्दिक सहानुभूति र समवेदना प्रकट गर्दछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ