arrow

जातीय र धार्मिक द्वन्द्व नफैलाउन प्रचण्डको आग्रह

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ २४ आइतबार
prachanda-crowd-2080-05-24.jpg

हेटौँडा । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जातीय र धार्मिक द्वन्द्व नफैलाउन सबैलाई आग्रह गरेका छन् ।

आज आयोजित समाजबादी मोर्चा नेपाल बागमती प्रदेशको सन्देशसभालाई सम्बोधनका क्रममा अध्यक्ष प्रचण्डले जनयुद्धमा जातीय र धार्मिक द्वन्द्व कतै नभएको उल्लेख गर्दै यस्तो कार्यमा संलग्न नहुन सबैलाई आग्रह गरे ।

“हामीले जनआन्दोलन गर्दा कहिल्यै पनि जातीय र धार्मिक द्वन्द्व भएन तर र अब पनि हामी यस्तो कदापी हुनदिने छैनौँ”, प्रधानमन्त्री समेत रहेका अध्यक्ष प्रचण्डले भने ।

सङ्घीयता र समावेशीताका पक्षमा लड्नका लागि मोर्चा गठन भएको उनको भनाइ छ ।

सरकारले भ्रष्टाचारविरुद्ध र सुशासन, सामाजिक न्यायको अभियान सुरु गरेपछि चौतफी आक्रमण सुरु भएको पनि प्रधानमन्त्री प्रचण्डको भनाइ छ ।

“वर्तमान सरकार परम्परागत संसदीय अभ्यासभन्दा पनि जनताका लागि जनपक्षीय व्यवस्था कायम गर्र्दै जनताको अवस्था सुधार गर्ने पक्षमा छ”, उनले भने ।

सरकार जनताको गणतन्त्र बनाउन चाहने दलहरुको एकता, बुर्जुवा र प्रतिक्रियावादीको शक्तिलाई हाबी हुन नदिन महत्वपूर्ण भूमिका खेलिरहेको उनको भनाइ छ ।

समाजवादको आधार तयार पार्दै जनताको गणतन्त्र बनाउने अभियानमा लागिरहेको कारण पनि यो मुद्दामा एकजुट हुन आवश्यक रहेको उनको भनाइ छ ।

प्रधानमन्त्री प्रचण्डले कम्युनिष्टहरु जनाताको हितका लागि एकबद्ध भएर एउटै धारमा समाहित हुने विन्दुमा आइपुगेको भनाइ व्यक्त गरे ।

कम्युनिष्टहरु एक-अर्कालाई अपमान गरेर फेरि फुटेमा त्यसको मर्का जनतालाई पर्ने उनको भनाइ छ ।

पूर्वप्रधामन्त्री एवम् नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपालले कमजोरीलाई स्वीकार गर्दै दृढ भएर जनताका लागि काम गर्नुपर्नेमा जोड दिए ।

“हामी सबै एक भएर राजतन्त्र ढाल्यौँं, हाम्रो एकता आज अवस्था परिवर्तनका लागि तथा समाजवादको पक्ष र पुँजीवादको विरुद्धमा हो”, उनले भने ।

अध्यक्ष नेपालले समानताको सिद्धान्त लागू गर्न र जनतालाई स्तरीय जीवन बाँच्न पाउने आधार तयार गर्नका लागि समाजवादी मोर्चाका दल एक भएर काम गर्ने बताए ।

नेपाल कम्युनिष्ट पार्टी माओवादीका अध्यक्ष नेत्रविक्रम चन्दले सरकारले सुरु गरेको भ्रष्टाचारविरुद्धको अभियानमा आफ्नो पार्टीको साथ र सहयोग गर्ने स्पष्ट पारे ।

उनले वर्तमान सरकारले जनताको पक्षमा काम गरिरहेको भन्दै सरकारलाई अझ सशक्त बनाउँदै जनपक्षीय काममा लाग्न सुझाव दिए ।

समाजबादी फोरमका नेता शिवलाल थापा मगरले पहिचानबादीका नाममा आन्दोलन गर्नेलाई झुटा मुद्दा लगाइएको बताउँदै तत्काल रिहाइको माग गरे ।

संविधानमा उल्लेख भए बमोजिम स्थानीय भाषामा पठनपाठन गरिनुपर्ने र सोतर्फ वर्तमान सरकार लागेकोमा उनले धन्यवाद दिए ।

उनले सरकारले सुरु गरेको भ्रष्टाचारविरुद्धको अभियानमा ऐक्यबद्धता जनाउँदै थप फाइल खोल्न पनि सुझाए । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ