काठमाडौं । नेपाली काँग्रेसको भ्रातृ संस्था नेपाल तरुण दलको स्थापना दिवस विविध संझना, चर्चा र आलोचनाबाट अगाडि बढिरहेको छ । विसं २०१० साल कार्तिक १० गते विश्वेश्वरप्रसाद कोइरालाले स्थापना गरेको तरुण दललाई तत्कालीन अवस्थामा राणाहरुको धङधङीमा रहेकाहरुले फैलाएको अफवाह चिर्न र प्रजातन्त्रलाई मजबुद पार्न तरुण दस्ता खडा गरिए पनि त्यो अहिलेसम्म आइपुग्दा अलमलकै अवस्थामा छ ।
हुनत राष्ट्रियता, लोकतन्त्र, समाजवाद र तरुण एकताप्रति प्रतिबद्ध रहने भन्ने यसका उद्धेश्य छन् । त्यस्तै नेपाली समाजलाई सम्बृद्धि र आधुनिक समाजमा रूपान्तर गर्नका लागि स्वाभिमानी, कर्तव्यशील र परिश्रमी पुस्ताको जग बसाउन महत्वपूर्ण भूमिका खेल्ने भनी तरुण दललाई काँग्रेसले परिभाषित गरेको छ ।
तर तरुण दललाई काँग्रेसले नै चलाउन नजानेको हो कि भनेर आलोचना गर्नेहरु नै धेरै छन् ।
यसरी बीचबाटोमा अलपत्र बनेको तरुण दलले आफ्नो स्थापना दिवसको अवसरमा केन्द्रका तर्फबाट कुनै पनि औपचारिक गर्दै छैन ।
केन्द्र नै निराश हुनुले पक्कै पनि तरुण दल लक्ष्यविहीन भएको हो कि भन्ने शंका गर्ने ठाउँ छ ।
तर केन्द्रले कुनै कार्यक्रम नगरे पनि जिल्ला संघहरु भने चलायमान बनेका छन् ।
सो अनुसार काठमाडौं जिल्ला संघले साँझ शान्ति बाटिकामा दीप प्रज्वलन गरेर स्थापना दिवस मनाउँदै छ ।
त्यस्तै अन्य जिल्ला संघहरुले अन्तक्र्रिया, सरसफाइ, रक्तदान लगायतका कार्यक्रम गरेर स्थापना दिवस मनाउँदै छन् ।
केन्द्रले किन कुनै कार्यक्रम गरेर तरुण दलका सदस्यहरुलाई जागरुक गरेन त ? यसबारेमा अध्यक्ष उदयशमशेर राणा सम्पर्कमै आउन चाहेनन् ।
उनको पारिवारिक स्रोतले उनी तरुण दलकै कार्यकर्तासग छलफलमा रहेको पाइयो ।
तरुण दल नेतृ लक्ष्मी खतिवडाले काँग्रेस एक भए पनि तरुण दल अझै एक हुन नसकेको हो कि भनी चिन्ता ब्यक्त गर्छिन् ।
उनले काँग्रेस नेतृत्वले गम्भीर भएर नसोच्ने हो भने तरुण दल जुन उद्धेश्य लिएर खडा भएको हो त्यसको औचित्यसमेत सकिएर जाने बताइन् ।
पार्टीले तरुण दललाई चलायमान बनाउन नसकेको उनको आरोप छ । उनले तरुण दलको कार्तिक २९ गतेदेखि हुने चौथो महाधिवशेनलाई सफल पार्नसमेत आब्हान गरेकी छिन् ।
यता अर्का तरुण दल नेता नारायण भट्टराईले काँग्रेसले तरुण दलबाट गरेको अपेक्षा के हो भन्ने नै स्पष्ट नभएकाले अन्योल बढेको बताए ।
उनले पनि काँग्रेस नेतृत्वले तरुण दललाई निर्देशन दिन नसकेको बताए ।
६० वर्ष पुरानो त्यस्तो युवा केन्द्रीत संस्था जसले दृढ उद्धेश्य बोकेर अगाडि बढ्ने हो भने ठूला ठूला पहाडसमेत फोड्न सक्छ ।
त्यही युवा दस्तालाई कता लैजाने भन्ने योजना नबन्दा देशको विकासका लागि लाग्नुको सट्टा नेताकै पिछलग्गुमात्र पो बन्दै जाने हो कि भन्ने शंका बढेको छ ।