arrow

'महाभियोगमा कांग्रेस प्रक्रियामा सहभागी र जनभावना अनुसार निर्णय गर्छ'

logo
गोपाल पोखरेल
प्रकाशित २०७३ कार्तिक १० बुधबार
congress_lokman.jpeg
उदयपुर। भौतिक पूर्वाधार तथा यातायात मन्त्री रमेश लेखकले नेपाली कांग्रेस प्रक्रिया र परिणाममा विश्वास गर्ने पार्टी भएकाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीलाई महाअभियोग लगाउने सवालमा प्रक्रिया भित्र छिरेको बताएका छन् । नेपाल प्रेस युनियन उदयपुर शाखाले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले कांग्रेसले जनताको भावना अनुसार मुलुकको हितमा निर्णय गर्ने दावी गरे ।
 
“महाअभियोगको सवाल ब्यवस्थापिका संसदको विशेषाधिकार भित्र पर्छ” उनले भने,“ त्यसैले संसदीय दलमा छलफल गरेर निर्णय लिनु  आवश्यक छ ।” तर संसदीय दलले जनताको भावना अनुसारकै महत्वपूर्ण निर्णय गर्ने उनको भनाई छ ।
 
अब देश विकासको काम कसैले रोकेर रोक्न नसक्ने बताउँदै मन्त्री लेखकले शान्ति र स्थीरता विकासका पूर्वसर्त भएको उल्लेख गरे ।“ बार्तामार्फत तराई केन्द्रीत दलका समस्या समाधान गर्दै संविधानको कार्यान्वयन गर्ने र विकास निर्माण गर्ने सरकारका प्रमुख एजेण्डा छन् ” उनले भने,“ एक बर्ष भित्रमा स्थानीय, प्रादेशिक र केन्द्रीय संसदको निर्बाचन सम्पन्न भएमात्रै संविधानको कार्यान्वयनले गति लिन्छ ।” त्यसैले पनि सरकार मधेशका मुद्धालाई तत्काल समाधान गर्ने दिशामा अगाडि बढिरहेको उनको भनाई थियो ।
 
“मुलुकमा शान्ति स्थापना भइसक्यो, नयाँ संविधान जारी भइसक्यो” उनले भने, “ त्यसैले सरकारले अब पहिलो प्राथमिकतामा पूर्वाधार विकास राखेको छ ।” संविधानमा आबश्यक संसोधन गरेर तराई केन्द्रीत राजनीतिक दलका असंतुष्टिलाई संवोधन गर्ने तयारी सरकारले गरिरहेको उनले बताए । मन्त्री लेखकले मुलुकमा शान्ति स्थापना गर्ने काम सम्पन्न भइसकेकाले अब सरकारको एक मात्र दीर्घकालीन  लक्ष्य देश विकास भएको बताए ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ