नापी कार्यालयले सर्वोच्चको आदेशको अवहेलना गरेको दाबी
निरञ्जन साह,
प्रकाशित २०८० भदौ २६ मंगलबार
1.8k
Shares
धनुषा । धनुषाको विदेह नगरपालिकास्थित एक जग्गालाई लिएर सर्वोच्च अदालतले दिएको आदेशको समेत नापी कार्यालय धनुषाले अवहेलना गरेको आरोप लगाइएको छ । विदेह नगरपालिका वडा नम्बर ७स्थित गिद्धामा रहेको कित्ता नम्बर ४२ र कित्ता नम्बर ५१ लाई लिएर अंशियारहरू बिच विवाद भएपछि यस्तो आरोप लगाइएको हो ।
कित्ता नम्बर ४२ र ५१ लाई लिएर सर्वोच्च अदालतले दिएको फैसलाको नापी कार्यालयले समेत अवहेलना गरेको आरोप अंशियार दावी गर्ने गङ्गा प्रसाद महतोले लगाएका छन् ।
महतोका अनुसार दूबै कित्ता गरी ११ कट्टा घडेरीमा भतिजो रामबाबु महतोले कब्जा गरेको हो। आधा जग्गा गङ्गाका दिदीहरू किशोरी देवी र पार्वती देवीको नाममा सिफारिस तत्कालीन प्रधानपञ्चको कार्यालयले गरेको थियो।
गङ्गाले भने ‘तर भाउजू चन्द्रकलाले पूरै जग्गा आफ्नो नाममा सिफारिस गराएर छोरा रामबाबुको नाममा सिफारिस गराएकी छिन् ।’ अदालतले आधा जग्गामा किशोरी र पार्वतीको अधिकार रहेको भनी फैसला सुनाएको थियो भने, बाँकी आधा जग्गाको रजिष्ट्रेशन भने बदर गरेको थियो ।
अदालतको फैसला आइसक्दा समेत रामबाबु र नापी कार्यालयले फैसलाको अवहेलना गरिरहेको अर्का अंशियार दावी गर्ने सूर्यनारायण साहले आरोप लगाए । विवादित सो जग्गामा रामकृष्ण महतोका ३ छोराहरू वैद्यनाथ महतो, गङ्गाप्रसाद महतो र सूर्यनारायण साह बिच हकभोगका लागि विवाद रहेका छन् ।