काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालसँग अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निमित्त आयुक्त दीप बस्न्यातसहितका आयुक्तले भेटवार्ता गरेका छन्।
प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बुधबार भएको भेटवार्तामा प्रमुख आयुक्त लोकमानसिंह कार्कीविरुद्ध संसद्मा महाभियोग प्रस्ताव दर्ता भएपछिको अवस्थाका विषयमा केन्द्रित रहेको थियो ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले नियमित भेटघाटअन्तर्गत आजको भेट भएको बताए । भेटमा प्रधानमन्त्रीले स्वायत्त र स्वतन्त्र निकायको रुपमा आफ्नो काम जारी राख्न आयोगलाई आग्रह गरेको आचार्यले जानकारी दिए ।
प्रधानमन्त्रीले आयोगको कामकारबाहीमा राजनीतिक दल र सरकारको पूर्ण सहयोग रहने प्रतिबद्धता व्यक्त गरेका थिए । गत कात्तिक ३ गते प्रमुख आयुक्त कार्कीविरुद्ध संसद्मा नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्रका १५७ सांसदले महाभियोगको प्रस्ताव दर्ता गरेपछि कार्की निलम्बित भएका छन् । हाल वरिष्ठताको आधारमा बस्न्यातले निमित्त प्रमुख आयुक्तको जिम्मेवारी सम्हालिरहेका छन् । रासस