काठमाडौँ । नेकपा एमालेका सचिव योगेश भट्टराईले अख्तियार प्रमुख लोकमानविरुद्ध महाअभियोगको प्रस्ताव आउनु एकदमै सकारात्मक र स्वागतयोग्य भएको भन्दै यसलाई संसदबाट पारित गर्नको लागि प्रमुख दल नेपाली काँग्रेसले पनि सहयोग गर्नुपर्ने बताए ।
बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्द सचिव भट्टराईले संसदीय सर्वोच्चतालाई स्थापित गर्नको लागि यो प्रस्ताव महत्वपूर्ण कदम भएको दाबी गरेका छन् । उनले भने,‘यो सही कदम हो, त्यसैले सबै दल एक ठाउँमा उभिनुपर्छ ।’ उनले महाअभियोगको प्रस्ताव ल्याउन बरु ढिलाई भएको गुनासो पोखे । उनले प्रस्तावको जस वा अवझस कसले लिने भन्दा पनि यो प्रस्तावको पक्षमा कुन कुन पार्टी उभिन्छन भन्ने कुार महत्वपूर्ण हुने बताए । उनले भने,‘कहिलेकाहीँ काँग्रेसलाई लाग्दो हो, यो प्रस्ताव आफ्नो अग्रसरतामा ल्याउनुपर्दथ्यो भनेर, अब यो प्रस्तावलाई पारित गर्नको लागि पनि महत्वपूर्ण निर्णय गर्नुपर्छ ।’
उनले संविधान जारी भएलगत्तै प्रमुख दलहरुले सहमतिको लिक छोडेको भएपनि लोकमान प्रकरणले प्रमुख दलहरुलाई एक ठाउँमा उभ्याउने विश्वास दिलाए । भट्टराईले भने,‘लोकमान प्रकरणलाई हामीले सही अवसरको रुपमा लिनुपर्छ ।’ उनले उक्त प्रस्तावलाई साझा प्रस्तावको रुपमा अघि बढाउनुपर्ने धारणा राखे ।
उनले लोकमानले मुलुकमा समानान्तर सरकार चलाउन खोजेकोले उनीविरुद्ध महाअभियोगको प्रस्ताव ल्याईएको दाबी गर्दै भने,‘एउटै मुलुकमा दुई दुई वटा समानान्तर सरकार हुनै सक्दैन, सिंहदरबार एउटा छ १० वटा सिंहदरबार हामीलाई स्विकार्य छैन् ।’
सचिव भट्टराईले संविधान संशोधनको लागि सत्ता पक्षले अहिलेसम्म आफ्नो दलसँग कुनै छलफल नै नगरेको बताए । उनले के के विषयमा संविधान संशोधन हुँदैछ भन्ने कुरा समेत आफुहरुलाई थाहा नभएकोले यसबारेमा टिप्पणी गर्नु उपर्युक्त नहुने बताए । उनले सत्ता परिवर्तनको लागि महाअभियोगको प्रस्ताव नआएको समेत दाबी गरे ।