- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । युरोपेली सङ्घ (ईयू) का तीन सदस्य राष्ट्रले आफ्नो खाद्यान्न निर्यात विवादमा सम्झौता गर्न सहमत नभएमा उनीहरूमाथि व्यापार प्रतिबन्ध लगाउने विचार गरिरहेको युक्रेनका प्रधानमन्त्री डेनिस इश्मिहालले मङ्गलबार बताएका छन् ।
“पोल्याण्ड, हङ्गेरी र स्लोभाकियाले युरोपेली आयोगसँग वार्ता गरेका उपायहरूमा सहमत नभएसम्म युक्रेनले पारस्परिक व्यापार प्रतिबन्धहरू लगाउनेछ,” इश्मिहाललाई उद्धृत गर्दै सरकारी सञ्चारमाध्यमले भनेको छ ।
युक्रेनबाट खाद्यान्न आपूर्तिमा प्रतिबन्ध लगाउने छिमेकी देशहरूको घोषणालाई युक्रेनी अर्थव्यवस्था, ईयूको सिद्धान्त र विश्वव्यापी खाद्य सुरक्षालाई असर पार्ने निर्णयका रूपमा उनले वर्णन गरे ।
“यो युरोपेली आयोगको सिफारिसको विपरीत छ र यसले युक्रेनी अर्थव्यवस्था, ईयूको सिद्धान्त र विश्वव्यापी खाद्य सुरक्षाको कानुनलाई उल्लङ्घन गर्छ ।” युक्रेनले आफ्ना छिमेकी देशहरूलाई बजार विकृति रोक्न कृषि उत्पादनका चार समूहको निर्यातका लागि प्रभावकारी नियन्त्रणका उपायहरू लागू गर्ने बताएको छ ।
युरोपेली आयोगले गत साता बुल्गेरिया, रोमानिया, पोल्याण्ड, हङ्गेरी र स्लोभाकियामा युक्रेनी कृषि उत्पादनमा लगाइएको प्रतिबन्ध नबढाउने निर्णय गरेको बताएको थियो । आयोगको निर्णयको बावजुद पोल्याण्ड, हङ्गेरी र स्लोभाकियाले प्रतिबन्ध हटाउन अस्वीकार गरेका छन् ।