भक्तपुर । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले अख्तियार प्रमुख लोकमानसिंह कार्कीविरुद्ध ल्याइएको महाअभियोगको प्रस्ताव भारतको इसारामा आएको दाबी गरे।
विहिबार ट्रक व्यवसायी सङ्घ भक्तपुरको १७औँ वार्षिक साधारणसभामा बोल्दै बिजुक्छेले महाअभियोग प्रस्ताव एमालेले ल्याएको नभई भारतको इसारामा आएको दाबी गरे।
महाअभियोग प्रस्ताव संविधान संशोधनमा एमालेलाई हस्ताक्षर गराउने चालमात्रै भएको जिकिर गर्दै अध्यक्ष बिजुक्छेले भने – “कार्कीविरुद्ध महाअभियोग प्रस्ताव ल्याएर संविधान संशोधनमा एमालेलाई सहमतिमा गराउने भारतले चलखेल गरेको र त्यसैको उपज महाअभियोग प्रस्ताव आएको हो, एमालेले प्रस्ताव ल्याएको होइन, त्यस्तो देखिएको मात्र हो ।”
महाअभियोग प्रकरणमा प्रमुख प्रतिपक्ष दल एमाले भारतले चालेको चेसको गोटी बनेको आरोप लगाउँदै उनले भारतले चाहेअनुसारको संविधान संशोधनका लागि संसद्मा दुई तिहाइ बहुमत पुर्याउन भारतले एमालेलाई फसाएको बिजुक्छेको तर्क थियो ।
उनले अख्तियार प्रमुख कार्कीमात्र दोषी नभई अख्तियार प्रमुखमा लोकमानलाई ल्याउने मुख्य दलहरुसमेत दोषी भएको बताए । कार्यक्रममा भक्तपुर अदालतका जिल्ला न्यायाधीश लिप्तबहादुर थापा, प्रजिअ तेजप्रसाद पौडेल, प्रहरी उपरीक्षक किरण बज्राचार्यले सवारी दुर्घटना न्यूनीकरण गर्नलाई व्यवसायीले गम्भीर भएर चासो दिनुपर्ने औँल्याए ।
त्यस अवसरमा भक्तपुर ट्रक व्यवसायी सङ्घका अध्यक्ष एवम् कार्यक्रमका सभापति महेन्द्र खायमली, नेपाल इँटा उद्योग महासङ्घका अध्यक्ष महेन्द्रबहादुर चित्रकार, भक्तपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष कृष्णप्रसाद अवाल, भक्तपुर इँटा उद्योग व्यवसायी सङ्घका अध्यक्ष नातिभाइ ह्याम्बालगायतले दुर्घटना कम गर्न सरकारले कानुनमा सुधार गर्नुपर्नेमा जोड दिए । रासस