arrow

एमाले बागमती प्रदेशको प्रथम अधिवेशन :

नेतृत्वका लागि प्रतिस्पर्धा गर्ने युवालाई तलै रोक्ने एमालेको प्रयास

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज १० बुधबार
uml-bagmati.jpg

काठमाडौं । नेकपा एमालेको सोमबारबाट शुरु भएको बागमती प्रदेशको प्रथम अधिवेशनमा करिब चार दर्जन युवाले प्रदेश कमिटीको नेतृत्वका लागि प्रतिस्पर्धा गर्ने तयारी गरे पनि तलै रोक्ने प्रयास गरिएको छ । 

एमालेले केन्द्रीय सर्कुलरमार्फत सबै तहका कमिटीमा युवाको सङ्ख्या बढाउने नीति कार्यान्वयनमा ल्याएपछि बागमतीको प्रदेश अधिवेशनमा १६ देखि ४० वर्षभित्रका युवा समूहबाट चार दर्जनभन्दा बढी आकाङ्क्षी देखिएपछि तल रोक्न लागिएको हो । उनीहरूलाई अर्को कमिटीबाट राजीनामा दिएर आएको र राजीनामा स्वीकृत भएको पत्र ल्याएपछि मात्रै अनिवार्य रूपमा उम्मेदवार दिने पाउने नीति अख्तियार गरेर रोक्न लागिएको हो । 

एमालेले कमिटीको सङ्ख्याको अनिवार्य रूपमा १० प्रतिशत युवालाई छुट्टै निर्वाचन क्षेत्रबाट निर्वाचित गराउनुपर्ने बाध्यकारी व्यवस्था कार्यान्वयनमा ल्याएको छ । भदौ तेस्रो साता सम्पन्न लुम्बिनी अधिवेशनबाट पनि १० प्रतिशत १६ देखि ४० वर्ष युवा समूहका युवाहरू निर्वाचित भएका थिए । बागमतीमा पनि २४० सदस्यीय प्रदेश कमिटीमा युवाको अलग्गै निर्वाचन क्षेत्र मानेर २४ जना युवा निर्वाचित गराउने गरी निर्वाचन आयोगले तयारी गरेको छ । तर जिल्ला जिल्लामा कोटा बाँडेर त्यसलाई युवाको सङ्ख्या पुर्‍याउन लागिएको हो । 

‘युवा, महिलाहरूको छुट्टै निर्वाचन समूहबाट प्रतिनिधित्व हुने गरी निर्वाचित गराइनेछ,’ एमालेका नेता एवं अध्यक्ष मण्डलमा रहेका कमल चौलागाईले भने । उनका अनुसार अधिवेशनमा निर्वाचन हुँदा प्रतिस्पर्धाका लागि १३ जिल्लाबाट चार दर्जन युवाले उम्मेदवारी दिने गरी तयारी शुरु गरेका छन् । तर उनीहरूले यसअघि कुनै अर्को कमिटीमा भए त्यहाँ राजीनामा गरेको पत्र पेश गर्नुपर्नेछ बुधबार बिहानबाट नयाँ नेतृत्व चयनको प्रक्रिया अगाडि बढाउने अध्यक्ष मण्डलको तयारी रहेको छ । 

आकाङ्क्षा राख्नेहरूमा अहिले प्रदेश कमिटीमा रहेका ४० वर्षमुनिका युवादेखि विद्यार्थी पृष्ठभूमिको राजनीतिबाट भर्खरै बिदा भएकाहरूको सङ्ख्या उल्लेख्य छ । निवर्तमान प्रदेश कमिटी सदस्य सन्तोष खड्का, उमेश आचार्य र रज्जन केसीले युवा समूहबाट उम्मेदवारी दिने तयारी गरेका छन्। अनेरास्ववियु पृष्ठभूमिका खड्का निवर्तमान सदस्य तथा बागमती प्रदेशको विद्यार्थी फाँट इन्चार्ज छन् । 

त्यस्तै, केसी पनि निवर्तमान प्रदेश सदस्य हुन् भने आचार्य अनेरास्ववियुको उपाध्यक्ष हुँदै अघिल्लो सम्मेलनमा महासचिवमा प्रतिस्पर्धा गरेर बाहिरिएका थिए । यो समूहबाटै अनिल श्रेष्ठ, विष्णु तामाङ, लक्ष्मण गुभाजु, पूर्णिमा खरेल, सन्तोष पौडेल, सन्तोष राना क्षेत्री, जेनिश तामाङ, प्रदीप शर्मा, सुजन कार्की, कृष्ण मोक्तान, सबिता आचार्यलगायतले आकाङ्क्षा राखेर प्रतिस्पर्धाका लागि तयारी गरेका छन् । 

बागमती प्रदेश अध्यक्षका लागि कैलाश ढुङ्गेल, कृष्णप्रसाद दाहाल, केशव पाण्डे, सानुकुमार श्रेष्ठ र कृष्णभक्त पोखरेलले दावी गरिरहेका छन् । राती अबेरसम्म उनीहरूको दावी कायमै रहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ