arrow

दाफा मुलुककै सांस्कृतिक पहिचान : राष्ट्रपति भण्डारी

logo
प्रकाशित २०७३ कार्तिक १२ शुक्रबार
Bidhya.jpg.jpeg
ललितपुर । राष्ट्रपति विद्यादेवी भण्डारीले नेवार समुदायको संस्कृतिभित्र पर्ने दाफा (बाजा) मुलुककै सांस्कृतिक पहिचान रहेको बताएकी छन् । नेपालमण्डल दाफा महोत्सव–२०७३ को शुक्रबार ललितपुर मलमा उद्घाटन गर्दै उनले दाफा राष्ट्रकै इज्जत र प्रतिष्ठा भएको बताइन् । 
 
राष्ट्रपति भण्डारीले नेवार समुदायको संस्कृतिभित्र पर्ने बाजामध्ये दाफाले राष्ट्रिय एकता र स्वाभिमानमा आफ्नो पहिचान बनाइरहेको उल्लेख गर्दै अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धा गर्नसक्ने दाफा आधुनिक बाजाका कारण ओझेलमा परेकाले यसको संरक्षण र संवद्र्धनमा जोड दिनुपर्जे भनिन्। 
 
गत वर्षको विनाशकारी भूकम्पबाट दाफा संस्कृतिसँग सम्बधित रहेका मठमन्दिर, देवीदेवललाई असर गरेकाले यसको पुनःनिर्माण कार्य सक्दो छिटो हुनुपर्नेमा उनले जोड दिइन् । 
 
नेवार समुदायको कला र संस्कृतिलाई जगेर्ना गर्ने उद्देश्यले नेपाल मण्डल दाफा महोत्सव–२०७३ आयोजना गरिएको महोत्सव निर्देशन समितिका अध्यक्ष डा सत्यमोहन जोशीले बताए । 
 
राष्ट्रियस्तरमा प्रस्तुत गर्न योग्य दाफा संस्कृतिको संरक्षण, संवद्र्धन तथा यसको महत्वको विषयमा युवामाझ प्रस्तुत गर्न महोत्सवले प्रभाव पार्ने उनको भनाइ थियो । उनले दाफा संस्कृति नेवार समुदायको मात्र नभई नेपालकै सांस्कृतिक पहिचान भएको बताए । दुई हजार वर्षदेखि यस बाजाको प्रचलन रहँदै आएको इतिहासमा उल्लेख छ । 
 
महोत्सवमा काठमाडौँ उपत्यकालगायत देशका विभिन्न क्षेत्रमा बसोवास गर्दै आएका नेवार समुदाय सहभागी रहेका छन् । महोत्सवमा सहयोगी विधाका रुपमा विभिन्न बाजाको तालमा मुकुन्डो नाच, लाखे नाच, कवं नाचदेखि धिमे नाच तथा बाँसुरीको तालमा नाच प्रस्तुत गरिएको थियो । 
 
महोत्सवका मुख्य आयोजक नेपाल मण्डल टेलिभिजनका सञ्चालक श्रीकृष्ण महर्जनका अनुसार महोत्सवमा विभिन्न जिल्लाबाट गरेर दुईसय दाफा समूहले सहभागिता जनाएका छन् । छ महिनासम्म सञ्चालन हुने उक्त महोत्सव ललितपुर मलमा प्रत्येक शुक्रबार र शनिबार दिनको २ बजेदेखि बेलुका छ बजेसम्म महोत्सव सञ्चालन हुनेछ । रासस 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ