arrow

अर्थतन्त्रको सङ्कट मोचनका लागि महासङ्घले वृहत् राष्ट्रिय विमर्शको आयोजना गर्ने

सात वटै प्रदेशमा लगानी सम्मेलन गर्ने

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज १५ सोमबार
baglung-dorpatan-fncci-meet.jpg

ढोरपाटन। नेपाल उद्योग वाणिज्य महासङ्घले वर्तमान आर्थिक सङ्कटको समाधानका लागि नेपाल सरकार, नेपाल राष्ट्र बैङ्क, विकास साझेदार, अर्थविद् तथा निजी क्षेत्रको सहकार्यमा वृहत् राष्ट्रिय विमर्श गरी अर्थतन्त्रको सङ्कट मोचनको रोडम्याप बनाउने निर्णय गरेको छ। 

बागलुङ जिल्लाको ढोरपाटनमा सम्पन्न महासङ्घको कार्यकारिणी समितिको तेस्रो बैठकले सबै पक्ष मिलेर समस्याको समाधान खोज्न आग्रह गर्दै अहिलेको सङ्कटको निकास निकाल्ने गरी यही असोज महिनाको अन्तिम साता वृहत् राष्ट्रिय विमर्शको आयोजना गर्ने निर्णय गरेको हो। 

सरकार तथा नियामक निकायले निजी क्षेत्रले उठाएका विषयहरू गम्भीरतापूर्वक नलिने र अर्थतन्त्र तथा व्यवसायका विषय निजी क्षेत्रका मात्र समस्या हुन् भन्ने गरेको महासङ्घको गुनासो रहेको छ। त्यसैले अहिलेको सङ्कट समाधानका लागि अर्थतन्त्रका सबै सरोकारवालाहरू एक हुनुपर्ने निजी क्षेत्रको धारणा छ।

कार्यकारिणी समितिको निर्णय सार्वजनिक गर्दै महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपाल भ्रमण वर्ष २०२५ लाई सफल बनाउने सहित ४ वटा महत्त्वपूर्ण निर्णय गरेको जानकारी दिए।

नेपाल सरकारले घोषणा गरेको नेपाल भ्रमण दशकलाई सफल बनाउने गरी निजी क्षेत्रले भ्रमण वर्ष भरी महासङ्घको केन्द्र, प्रदेश र जिल्ला/नगरमा पर्यटन प्रवर्द्धन सम्बन्धी विभिन्न कार्यक्रमहरू आयोजना गर्नुका साथै महासङ्घ तथा यसका सदस्य सङ्घ/संस्थाका लेटर प्याडमा भ्रमण वर्षको लोगो राख्ने उनले बताए।

त्यसै गरी, महासङ्घले सात वटै प्रदेशमा प्रदेश सरकारसँगको सहकार्यमा लगानी सम्मेलन गर्ने, भारत तथा चीनको लगानी भित्र्याउन केन्द्र सरकारसँगको सहकार्यमा भारत तथा चीन केन्द्रित राष्ट्रिय स्तरका सम्मेलनहरू आयोजना गर्ने निर्णय गरेको छ।

महासङ्घले ७७ वटै जिल्लाका व्यवसायीहरूको सहभागितामा वृहत् लगानी कम्पनी स्थापना गरी ठूला तथा बहु आयामिक आयोजनाहरूमा लगानी गर्ने निर्णय गरेको ढकालले बताए।

महासङ्घका सदस्यहरूमा संस्थाप्रति अपनत्वको भावना विकास गर्दै स्थानीय सम्भावनालाई पहिचान गरी लगानी अभिवृद्धि गर्न महासङ्घले मुलुकभित्रका सम्भावनायुक्त विभिन्न स्थानमा महासङ्घका बैठक आयोजना गर्न सुरु गरेको छ।

यसै क्रममा महासङ्घको कार्यकारिणी समितिको तेस्रो बैठक अध्यक्ष ढकालको गृह जिल्ला बागलुङ जिल्लाको ढोरपाटनमा सोमबार सम्पन्न भएको छ। ढोरपाटन बागलुङ जिल्लाको ऐतिहासिक र पर्यटकीय क्षेत्र हो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ