arrow

ज्येष्ठ नागरिकका अधिकार अझै कार्यान्वयनमा आउन सकेनन् : रेग्मी

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज १६ मंगलबार
Khilraj Regmi.jpg

भक्तपुर । मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले ज्येष्ठ नागरिकका हकहित र अधिकारको सवालमा संविधानले गरेको व्यवस्था अझै पूर्ण रुपमा कार्यान्वयनमा आउन नसक्नु विडम्बना भएको बताएकाख छन् ।

आज मध्यपुरथिमिमा नेपाल ज्येष्ठ नागरिक सेवा सहकारी संस्था लिमिटेडले आयोजना गरेको ३३औँ अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस तथा १५औँ ज्येष्ठ नागरिक सम्मान समारोह र १४औँ अगष्टाइन गुस मुर्रे पुरस्कार वितरण समारोहको उद्घाटन गर्दै उनले भने, “नेपालको संविधान २०७२ ले ज्येष्ठ नागरिकको सवालमा राज्यबाट विशेष सामाजिक सुरक्षा, हकअधिकारको व्यवस्था गरेको छ, मौलिक हकमा पनि व्यवस्था छ, तर राज्यबाट कार्यान्वयनको अवस्था कमजोर छ, यसतर्फ सरकारले विशेष ध्यान दिनु अत्यावश्यक छ ।”

ज्येष्ठ नागरिकले पाउँदै आएको मासिक सामाजिक सुरक्षा भत्ता कम भएको भन्दै न्यूनतम रुपमा जीवन निर्वाह गर्न सक्ने अवस्थामा भत्ता दिने अवस्थामा राज्यलाई पुर्याउनुपर्ने उनले बताए । 

ज्येष्ठ नागरिकले पारिवारिक माया, प्रेम, ममता, सद्भाव, संस्कृतिबाट टाढिनुपर्ने अवस्था आएको भन्दै उनले सक्नेले पनि आमाबुबालाई आश्रममा लगेर राखिदिने गर्न थालेकाले यसलाई रोक्नुपर्ने आँैल्याए ।

शिक्षा नीतिमा परिवर्तन गरी नैतिक शिक्षा र परिवारप्रति दायित्व बोध गर्ने शिक्षा समावेश गर्नुपर्नेमा जोड दिँदै पूर्वअध्यक्ष रेग्मीले राज्यबाट दिने सेवा, संवैधानिक हक, अधिकार सहज रुपमा ज्येष्ठ नागरिकले प्राप्त गर्न सक्ने वातावरण बनाउनुपर्ने बताए । 

सहकारीलाई कृषि उत्पादन र कृषि उद्यमसँग जोडेर लैजान सके देशको अर्थतन्त्र विकास हुने उनको भनाइ थियो ।

कार्यक्रममा मध्यपुरथिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठले आफ्नो नगरपालिकाले ६० वर्ष माथिका ज्येष्ठ नागरिकलाई निःशुल्क बीमा गरिदिएको बताए । 

उनले भने, “नगरपालिकाले ६० वर्ष माथिका ज्येष्ठ नागरिक, एकल, दलित, अपाङ्गलाई निःशुल्क स्वास्थ्य बीमा गरेका छौँ, पाँच वर्षभित्र सम्पूर्ण नगरवासीको बीमा गरिदिने भएका छौँ, ज्येष्ठ नागरिकलाई दिवा सेवा सञ्चालनका लागि बोडेमा ज्येष्ठ नागरिक भवन निर्माण गरेका छौँ, सिद्धिकालीमा पनि यस्तै भवन बन्दैछ ।”

उनले मध्यपुरथिमि नगरपालिकाद्वारा सञ्चालित नेपाल कोरियामैत्री नगर अस्पतलमा डायलोसिस सेवा, सिटी स्क्यान सेवा सुरु गरेको, प्रसूति वार्डमा विशेष सेवा प्रदान गरिएको, निःशुल्क रगत वितरण सेवा सञ्चालन गरेको, ब्लड बैंक निर्माण गर्न लागेको बताए । 

उनले नगरपालिकाले ज्येष्ठ नागरिकसँगै मूर्त तथा अमूर्त कला, संस्कृति र सम्पदाको संरक्षणमा योगदान पुर्याउँदै आएको बताए ।

‘सहकारी बा’ को नामबाट परिचित ज्येष्ठ नागरिक सेवा सहकारी संस्था लिका अध्यक्ष एव कार्यक्रमका सभापति कैलाशभक्त प्रधानाङले ज्येष्ठ नागरिक सहकारी बचत तथा ऋण प्रवाह गर्ने संस्था नभई नितान्त ज्येष्ठ नागरिकको सेवामा सञ्चालित संस्था भएकाले नगरपालिको सहयोग आवश्यक रहेको बताए । 
    
उनले जम्मा भएको रु ५६ लाखबाट संस्था सञ्चालन भइरहेको भन्दै नगरपालिकाले ज्येष्ठ नागरिकको आशा र भरोसालाई टुट्न दिन नहुने बताए । 

उनले ज्येष्ठ नागरिकले सबै स्वास्थ्य उपचार सहज रुपमा नपाएको भन्दै त्यसको व्यवस्था गर्नुपर्ने बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ