संविधान संशोधन गर्ने हो भने, प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख रहनुपर्छ : महासचिव पोखरेल
प्रकाशित २०७३ कार्तिक १३ शनिबार
1.4k
Shares
काठमाडौं । एमाले महासचिव ईश्वर पोखरेलले संविधान संशोधन गर्ने हो भने प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको व्यवस्था हुनुपर्ने बताएका छन् ।
एमाले काठमाडौँ– ४ नम्बर वडा कमिटीले शनिबार यहाँ आयोजना गरेको चियापान कार्यक्रममा उनले संविधानमा शासकीय स्वरुप र निर्वाचन प्रणालीमा संशोधन गर्नुपर्नेमा जोड दिए ।
सरकार बदल्ने र भत्काउने फोहोरी खेल बढेकाले अब मुलुक बनाउन प्रत्यक्ष कार्यकारीका लागि एमालेले पहल गर्ने उनको भनाई छ ।
महासचिव पोखरेलले ‘‘संविधान जसरी पनि जारी गर्नुपर्ने भएकाले हामीले अहिलेको शासकीय स्वरुप र निर्वाचन प्रणालीमा सहमति गर्न बाध्य भएका थियौँ’’ भन्दै ‘‘एमालेले सरकार छाडेपछि मोर्चा बदलिएको छ तर राष्ट्र निर्माणको मिसन बदलिएको छैन’–भने ।
उनले सामाजिक सद्भाव र मेलमिलापलाई भड्काउने विभिन्न प्रयास गरिए पनि मुलुकका राष्ट्रिय भावना समृद्ध बनाउने काम भएको र चाड पर्वले त्यस भावनालाई अझ मजबुत बनाएको बिचार राखे ।
कार्यक्रममा कमिटीका अध्यक्ष ध्रुवराज त्रिपाठीले मुलुकको समृद्धिका लागि राजनीतिक स्थिरता कायम गर्न एमालेले भूमिका खेल्नुपर्ने बताए । रासस