arrow

क्रिकेट संघ र आईएमई पेबीच साझेदारी, दुई वर्ष टिकेटिङ पार्टनर, करण र सोमपाल ब्राण्ड एम्बेसडर 

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज १९ शुक्रबार
ime-can-2080-06-18.jpg

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) र आईएमई डिजिटल सोलुसन लिमिटेड (आईएमई पे) बीच  रणनीतिक साझेदारी सम्झौतामा हस्ताक्षर भएको छ । 

सम्झौता अनुरूप आईएमई डिजिटल सोलुसन लिमिटेड अबको २ वर्षको लागि क्यानले देश भित्र आयोजना गर्ने अन्तर्राष्ट्रिय तथा राष्ट्रिय खेलहरूको टिकेटिङ्ग पार्टनरका रूपमा रहने छ । 

सम्झौता लागू भएसँगै आउँदो २ वर्षको समय अवधिमा क्यानले नेपालमा आयोजना गर्ने सम्पूर्ण अन्तर्राष्ट्रिय खेलहरूको फिजिकल र अनलाइन टिकटको बिक्रीको जिम्मेवारी पनि आईएमई पेले पाएको छ । 

राजधानीमा बिहीबार सम्पन्न एक समारोहबीच सम्झौता पत्रमा हस्ताक्षर भएको हो । पत्रमा नेपाल क्रिकेट संघको तर्फबाट सचिव पारस खड्का र आईएमई डिजिटल सोलुसन लिमिटेडका तर्फबाट आईएमई पेका प्रमुख कार्यकारी अधिकृत प्रवीण  रेग्मीले हस्ताक्षर गरे । 

क्यानले अन्तर्राष्ट्रिय स्तरमा पाएको सफलता र ख्यातिलाई संस्थागत गर्दै सिङ्गो नेपाली क्रिकेटको विकास र विस्तारका लागि सम्पूर्ण क्षेत्रको संयुक्त पहलको आवश्यकता रहेको छ।  सोही आवश्यकता महसुस गरी यो समझदारी भएको हो ।
 
क्यान सचिव खड्काले, आईएमई पे सँगको यो साझेदारीले नेपाली क्रिकेटको बहुआयामिक  विकासमा सहयोग पुग्ने बताए । 

‘नेपाली क्रिकेटको स्तर वृद्धि र दिगो विकासका लागी आउँदो दिनहरूमा हामीले अन्तर्राष्ट्रिय टोलीहरूसँग धेरै भन्दा धेरै खेलहरू खेल्नु पर्ने अवस्था रहेको छ। यसै बीचमा आईएमई पे जस्तो संस्थाले नेपाली क्रिकेटमा लगानी गर्ने निर्णय गर्नु हामी सबैका लागि खुशीको खबर हो । यो साझेदारी बनाउने मौका दिनु भएकोमा म मेरो व्यक्तिगत र सिङ्गो नेपाल क्रिकेट संघको तर्फबाट आई एम ई डिजिटल सोलुसन लिमिटेडलाई हार्दिक धन्यवाद समेत ज्ञापन गर्न चाहन्छु’, खड्काले भने ।  

यस्तै नेपाली क्रिकेटको विकासका विभिन्न आयामहरूमा जोडिन पाउँदा गौरवान्वित रहेको आईएमई पेका प्रमुख कार्यकारी अधिकृत प्रवीण रेग्मीले बताएका छन् । 

आईएमई पेको डिजिटल वित्तीय समावेशिताको महाअभियानलाई खेल तथा खेलाडीसँग जोड्दा झनै प्रभावकारी रूपमा लागू गर्न सकिने भएकोले यस साझेदारीप्रति अत्यन्तै उत्साहित रहेको पनि प्रमुख कार्यकारी रेग्मीले बताएका छन् ।  

यसैगरी आइएमई ग्रुपले क्रिकेटर करण केसी र सोमपाल कामीलाई ब्राण्ड एम्बेसडरको रूपमा नियुक्त गरेको छ । 

आईएमईले खेलाडीको मनोबल बढाउन प्रतिबद्ध रहेको भन्दै नयाँ ब्राण्ड एम्बेसडरहरु मार्फत आईएमई ग्रुपको साख बढाउन सहयोग पुग्ने विश्वास लिइएको बताएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ