arrow

चाडपर्व लक्षित गरी लुम्बिनी केबलकारको टिकटमा ४० प्रतिशत छुट

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज २१ आइतबार
butawal-cable-car-discount-dashain-tihar-2023-2080.jpg

बुटवल। लुम्बिनी केबलकार लिमिटेडले नेपालीहरूको महान् चाड दसैँ, तिहार, नेपाल संवत् र छठलाई लक्षित गरी चाडपर्व अफर ल्याएको छ। आज असोज २१ गतेदेखि लागु भएको यो अफरमा साबिक टिकट दरमा शनिवार बाहेक अन्य दिनहरूमा ४० प्रतिशत छुट दिइएको छ।

यो अफर अनुसार अब शनिवार बाहेक अन्य दिनहरूको टिकट दर ४५० रुपैयाँ मात्र कायम भएको छ। नेपालीहरूका महान् चाडपर्वका अवसरमा आम सर्वसाधारणलाई सहुलियत दरमा केबलकार चढाउने र कामाख्या देवी तथा सय वर्ष पुरानो दुर्गा भगवतीको दर्शन गराउने उद्देश्यले चाडपर्व अफर ल्याइएको केबलकारका अपरेसन म्यानेजर डिएन कायस्थ सैजूले जानकारी दिए। टिकट दरमा छुटसँगै कम्पनीले केबलकारको टप स्टेसनमा रहेको रेस्टुरेन्टका हरेक परिकारमा १० प्रतिशत छुट पनि दिने अपरेसन म्यानेजर सैंजूले जानकारी दिए।

चाडपर्वमा आम सर्वसाधारण परिवार सहित केबलकार चढ्न र देवी मन्दिर दर्शन गर्न सहज होस् भनेर ल्याइएको यो अफर यसअघिको मर्निङ अफर जस्तै सफल हुने कम्पनीले विश्वास लिएको छ। आईएमई ग्रुपको मुख्य लगानी रहेको कूल ५ अर्ब लागतको यो केबलकार लुम्बिनी प्रदेशकै पहिलो केबलकार हो। बुटवलको बमघाटमा बटम स्टेसन र पाल्पाको तिनाउ गाउँपालिका वसन्तपुरमा टप स्टेसन रहेको २।६ किलोमिटर दुरीको केबलकारको टप स्टेसनमा बनेको कामाख्या देवीको मन्दिर र सय वर्ष पुरानो दुर्गा भगवती मन्दिर हिन्दु धर्मावलम्बीहरूका लागि विशिष्ट आकर्षण बनेको छ। टप स्टेसनमा कम्पनीले ४० लाख लागतमा जिप लाइन सञ्चालनमा ल्याइसकेको छ भने छिटै डेढ करोड बढी लागतमा स्काई साइक्लिङ,विद्युतीय पिङ र बाल उद्यान बनाउँदै छ।

कामाख्या मन्दिरको दर्शन गर्न भारतको उत्तर प्रदेशका विभिन्न सहरबाट समेत उल्लेख्य मात्रामा पर्यटकहरू आउने गरेका छन्। केबलकारले प्रत्येक टिकट शुल्कको २ प्रतिशत सेवा शुल्क बापत बुटवल उपमहानगरपालिका र तिनाउ गाउँपालिकालाई दिने गरी सम्झौता भएको छ। उक्त रकम दुई पालिकाले ५०–५० प्रतिशतका दरले बाँडफाँड गर्ने गरी सम्झौता भएको छ ।टप स्टेसनमा साढे ३ अर्ब लागतमा २ वर्षभित्र १ सय ५० कोठा,एक हजार जना क्षमताको बैंक्वेट हल, क्यासिनो सहित पाँच तारे होटेल बनाउने तयारी गरेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ