arrow

न्याम्सको सिनेट सभामा स्वास्थ्यकर्मी थप्ने पहल, ट्रमाका प्रमुखको अनियमितताबारे चर्चा 

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज २८ आइतबार
NAMS-bir-hospital.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) को सिनेट सभा आइतबार बिहान बस्दैछ । स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतको अध्यक्षतामा बिहान ११ बजे बस्ने उक्त सभाले वीर अस्पतालमा स्वास्थ्यकर्मी थप्ने बारेमा निर्णय गर्न सक्ने जनाइएको छ । 

केही दिनअघि स्वास्थ्यमन्त्री बस्नेतले अढाइ सयको हाराहारीमा वीर अस्पतालबाट स्वास्थ्यकर्मी हटाएका थिए । मन्त्रालयले तत्काल करारमा थप्दा विवाद हुने सम्भावना देखेर मन्त्री बस्नेतले न्याम्समार्फत थप्ने योजना बनाइरहेको स्रोतले बताएको छ । 

उक्त सभामा ट्रमा सेन्टरका प्रमुख डा बद्री रिजालको अनियमितताबारेसमेत छलफल हुने स्रोतले बताएको छ । उनले करोडौँ रुपैयाँको अनियमितता गरेको आरोपमा प्रधानमन्त्रीको कार्यालयदेखि विभिन्न सम्बन्धित निकायमा उजुरीसमेत परेको छ । 

यस उजुरीबारे स्वास्थ्यमन्त्रीले चासो नदेखाएको आरोप  चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पताल इमर्जेन्सी तथा ट्रमा सेन्टर कर्मचारी परिवारले लगाएको छ । यही परिवारले नै विभिन्न निकायमा गुनासो टिपाएको छ । 

तर अझैसम्म सम्बोधन नभएको भन्दै सिनेट सभामा यसबारे छलफल गर्न दबाब दिएको छ । डा रिजालमाथि कर्मचारी भर्नामा लेनदेन, ठेक्कापट्टामा सेटिङ, आन्तरिक सरुवामा मेडिकल माफियाको सहजता अनुसार गरेको, मोडुलर ओटीमा २ करोड झ्वाम पारेको, अस्पतालको सबै मेडिकल सर्जिकल  टेन्डरमा मिलेमतो  गरेको,कोटेशन आफूनिकटलाई दिएको, अस्पतालका बिरामी निजी अस्पतालमा पठाउने गरेको लगायतका थुप्रै आरोप उनीमाथि कर्मचारीले लगाएका छन् । उनको आफ्नै अस्पताल अल नेपाल अस्पताल सामाखुशीमा रहेको छ ।

वीर अस्पतालमा अनेक किसिमका समस्या र अनियमितता भए पनि यतातिर चासो नदिएको आरोपसमेत कर्मचारीहरुले लगाएका छन् । 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ