दलहरु सहमति नजिक, संविधान संशोधन गरेर निर्वाचन : प्रधानमन्त्री दाहाल
प्रकाशित २०७३ कार्तिक १५ सोमबार
866
Shares
ललितपुर । प्रधानमन्त्री पुष्पकमल दाहालले संविधान संशोधन गरेर निर्वाचनमा जानुको विकल्प नरहेको बताएका छन् । न्हुदँ समारोह समितिले नेपाल संवत् ११३७ को अवसरमा गरेको सांस्कृतिक र्यालीलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले संविधान संशोधन र निर्वाचनका लागि सबै राजनीतिक दल एक हुनु आवक्कयक रहेको बताए ।
खासगरी विनाशकारी भूकम्पपछि जसरी नेपालका राजनीतिक दल एकताबद्ध भएका थिए, त्यसैगरी अघि बढ्नुको विकल्प नभएकोमा समेत प्रधानमन्त्रीले जोड दिए ।
दाहालले मधेस, थारु, आदिवासी जनजातिले उठाउँदै आएको जायज मागलाई संविधान संशोधनमार्फत पूरा गरेर निर्वाचन गरिनुपर्ने औँल्याए । संविधान संशोधनका लागि राजनीतिक दलहरु सहमति नजिक पुगेको उनको भनाइ थियो ।
“के मधेस, के पहाड, के तराई सबै एकढिक्का भएर देशलाई आर्थिक विकासतर्फ लैजानु आजको आवश्यकता हो” प्रधानमन्त्री दाहालले भने । प्रधानमन्त्री दाहालले नेवार समुदायको मात्र नेपाल संवत् नभएर सम्पूर्ण नेपालीको राष्ट्रिय संवत् भएको बताए । नेपाल संवतलाई अन्तर्राष्ट्रिय रुपमा रहेको इस्वी संवत्सँग तालमेल हुनेगरी स्थापित गराउन जरुरी रहेको पनि प्रधानमन्त्रीको जोड थियो ।
समितिका अध्यक्ष मोतीलाल सिल्पकारले नेवार समुदायले मान्दै आएको नेपाल संवतलाई राष्ट्रिय संवत् बनाउन आग्रह गरे । रासस