arrow

भारत जाने तयारीमा रहेका दीपकुमारले भने–हार्ने खेल खेलेर न भारतलाई फाईदा न नेपाललाई

सार्वभौमिकताको रक्षाका लागि खरो उत्रिन्छु

logo
प्रकाशित २०७३ कार्तिक १५ सोमबार
deep-kumar-upadhyay-ND.jpeg

काठमाडौं । भारतका लागि नवनियुक्त नेपाली राजदूत दीपकुमार उपाध्यायले भारतीय राष्ट्रपति प्रणव मुखर्जीको नेपाल भ्रमणले नेपालको कुटनीति नयाँ उचाईमा पुग्ने बताएका छन् ।

रिपोर्टर्स क्लबको देउसी–भैलो कार्यक्रमको टोलीसँग नवनिुयुक्त राजदूत उपाध्यायले भने, ‘नेपाललाई गहिराईका साथमा चिन्ने मित्रराष्ट भारतमा नेताहरुपनि थोरै हुँदै जानुभएको छ, त्यस मध्ये उहाँ एक अग्रणी व्यक्ति हो, मलाई आज अपार खुशी लागकेको छ, उहाँको भ्रमणले नेपालको कुटनीतिलाई थप उचाईमा लैजान मद्दत पुग्छ, हामीले नेपाली जनताहरुको पनि उत्साह देखेका छौं, यो एकदमै राम्रो कुरा हो ।’

राजदूत उपाध्यायले सानातिना कुराहरुलाई हामीले अगाडि ल्याउने भन्दा पनि आगामी दिनमा नेपाललाई कसरी फाईदा पुग्छ भन्ने कुरामा आफूहरुले ध्यान दिनुपर्ने बताए । उनले अघि थपे, ‘द्धिपक्षीय उच्च भ्रमणले सम्बन्ध प्रगाढ बनाउँछ, हाम्रोपनि राष्ट्रपति विद्या भण्डारी भारत भ्रमणमा छिट्टै जाँदै हुनुहुन्छ, यसले गर्दा द्धिपक्षीय नेपाल–भारत सम्बन्ध अत्यन्तै प्रगाढ बन्छ ।’

उनले संविधान कार्यान्वयनमार्फत नेपालमा दिगो शान्ति, राजनीतिक स्थिरता र आर्थिक समृद्धिको मुल एजेण्डामा अघि बढ्नको लागि मित्रराष्ट्र भारतको अत्यन्तै आत्मिक सहयोगको आवश्यकत्ता रहेको समेत औंल्याए । उनले अघि थपे, ‘त्यो भनेको हामीले शान्त, मर्यादित र परिणामुखी कुटनीतिबाट त्यसलाई अगाडि बढाउनुपर्छ, यसको लागि मेरो भरमग्दुर प्रयास रहनेछ ।’

उपाध्यायले थपे,‘नेपाली जनताको स्वार्थ र नेपाल राष्ट्रको स्वार्थ र हाम्रो सार्वभौमिकतामा कतैबाट कुनै पनि किसिमको आँच आउन ननिदईकन हामीले हाम्रो राष्ट्रिय स्वार्थलाई सर्वोपरि मानेर जाने बारेमा मैले मेरो आफ्नो तहबाट, हुन त गर्ने भनेको त सरकारले हो तर मैले राजदुत भएको नाताले सहजीकरण गर्नेछु । त्यो भूमिकामा म खरो उत्रिन्छु ।’


पछिल्लो समय दुवै देशले सम्बन्ध प्रगाढ बनाएर लैजानुपर्ने गम्भीर महशुस गरेको उल्लेख गर्दै उनले भने,‘हार्ने खेल खेलेर न भारतलाई फाईदा हुन्छ, न त नेपाललाई, त्यो कुराको महशुस अहिले दुवै देशले गरेका छन् ।’ उनले भारतले नेपाललाई सहयोग गर्नैपर्ने बताउँदै भने,‘खासगरी समुन्नत भारत र समुन्नत चीनको वीचमा नेपाल छ, गरिब राष्ट्रको रुपमा रहिरहनु दुवै देशलाई फाईदा छैन् ।’

राजदूत उपाध्यायले अब नेपाल भारत सम्बन्धमा कुनै दरार नभएको समेत जिकिर गरे । उपाध्याय तिहार र छठपछि काम थाल्ने गरी भारत जाने तयारीमा छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ