संशोधनका क्रममा नेपाल संवतलाई संविधानमै स्थापित गरिन्छ : प्रधानमन्त्री दाहाल
प्रकाशित २०७३ कार्तिक १५ सोमबार
779
Shares
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले संविधान संशोधन गरेरै भए पनि नेपाल संवतलाई संविधानमा स्थापित गर्ने प्रतिवद्धता जनाएका छन् ।
नयाँ वर्ष नेपाल संवत् ११३७ प्रारम्भ भएको अवसरमा न्हूदँ राष्ट्रिय समारोह समितिले काठमाडौंको बसन्तपुरमा आयोजना गरेको ‘भिन्तुना सभा’ लाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले नेपाल संवतलाई व्यवहारमा लागू गर्न संशोधन मार्फत संविधानमै उल्लेख गरिने बताएका हुन् ।
नेपाल संवत् घोषणा मात्रै गर्ने भन्दा पनि त्यसलाई व्यवहारिक रूपमा कार्यान्वयन गर्न बुद्धिजीवी र सरोकारवाला सबैको उत्तिकै भूमिका हुने विचार प्रधानमन्त्री दाहालले राखे ।
‘आदिवासी जनजाति, दलित, महिला, मधेसीलगायत असन्तुष्ट समुदायका अधिकारलाई संशोधन मार्फत संविधानमा समावेश गर्न सरकार बाहिर रहेका सबै राजनीतिक दलसँग छलफल भइरहेको छ, अब छिट्टै संविधान संशोधन गरिनेछ’ – दाहालले भने ।
संविधान संशोधनपछि स्थानीय तहको निर्वाचनसँगै मुलुकलाई आर्थिक विकासको बाटोमा अघि बढाउनुपर्ने प्रधानमन्त्री दाहालको भनाइ थियो । नेपाल संवतलाई नेपालको मुद्रा तथा कागजी नोटमा अङ्कित गर्नुपर्ने, विद्यालय तथा महाविद्यालय स्तरमा राष्ट्रिय विभूति शङ्खधर साख्वाः र नेपाल संवतको विषयमा पठन–पाठन गराउनुपर्ने लगायत न्हूँद राष्ट्रिय समारोह समितिले राखेका मागलाई सम्बोधन गर्न सक्दो प्रयास गर्नेसमेत प्रधानमन्त्री दहालले सुनाए ।
केही दिनअघि समारोह समितिले प्रधानमन्त्री दाहाललाई भेट गरी राजधानीमा शङ्खधरको पूर्णकदको सालिक स्थापना गर्नुपर्ने र नेपाल संवत्का प्रणेता शङ्खधरको नाममा प्रतिष्ठान गठन गर्नुपर्ने लगायतका माग राखेको थियो ।
आफू पहिलो पटक प्रधानमन्त्री हुँदा नै नेपाल संवत्लाई राष्ट्रिय संवत्को औपचारिक मान्यता प्रदान गरी घोषणा गरेको दाहालले स्मरण गराए । दाहालले थपे, ‘अब यसलाई व्यावहारिक रूपमा कार्यान्वयन गर्न पनि प्रधानमन्त्रीको रूपमा मेरो उत्तिकै भूमिका रहन्छ ।’
कार्यक्रममा नेपाल संवत्लाई जनमानसमा प्रवद्र्धन गरेको योगदानको कदर स्वरुप पूर्व सभासद् बुद्ध साय्मीलाइ ‘नेपाल संवत् पुरस्कार’ प्रदान गरिएको थियो । पुरस्कार राशि २५ हजार रुपैँया छ ।
नेपाल संवत्का प्रवर्तक शङ्खधरले ११३७ वर्ष पूर्व जनताको ऋण मोचन गरी स्थापना गरेको यो संवत् विश्वमै देशको नाममा स्थापना गरिएको एक मात्र संवतको रूपमा रहेको छ । नेपाल सरकारले नेसं ११२९ मा यो संवत्लाई राष्ट्रिय संवतको औपचारिक मान्यता प्रदान गरी घोषणा गरेको हो । ‘राष्ट्रिय संवत’ घोषणा भए पनि त्यसलाई व्यावहारिक रूपमा लागू भने गरिएको छैन ।
नेपाल संवत् प्रारम्भ भएको खुसियालीमा काठमाडौँ, भक्तपुर, ललितपुर, थिमि, कीर्तिपुर, बुङ्मती, बौद्धलगायत उपत्यकाका तीनै सहर र त्यससँग जोडिएका ठाउँमासमेत नयाँ वर्ष हर्षोल्लासका साथ शङ्खधरको स्मरण गर्दै विविध कार्यक्रमहरु आयोजना भएका छन् । केही वर्षयता देखि देशभर नेपाल संवत् फेरिने दिन भिन्तुना जुलुश र शुभकामना आदानप्रदानका कार्यक्रमहरु हुन थालेका छन् ।
न्हूदँ राष्ट्रिय समारोह समितिका अध्यक्ष तथा सांसद भीमसेनदास प्रधानले नेपाल संवत् नेवार समुदायको मात्र नभई सबै नेपालीको साझा सम्पत्ति भएको हुँदा त्यसलाई व्यावहारिक रूपमा कार्यान्वयन गर्दै निरन्तरता दिनुपर्ने माग गरे । कार्यक्रममा उद्योगमन्त्री नवीन्द्रराज जोशी, सांसद तथा नेवार समुदायका बुद्धिजीवी, साहित्यकार र भाषिक कार्यकर्ताहरुको ठूलो समूहमा उपस्थिति थियो ।