संविधानले तोकेको समयभित्रै तीन वटै निर्वाचन हुन्छ : सभापति देउवा
प्रकाशित २०७३ कार्तिक १५ सोमबार
1.4k
Shares
भक्तपुर । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले संविधानले निर्धारण गरेको समयभित्रै देशको तीनवटै संरचनाको निर्वाचन सम्पन्न हुने बताएका छन् ।
नेपाली काँग्रेस भक्तपुर जिल्ला कार्यसमितिले गरेको शुभकामना आदनप्रदान कार्यक्रममा बोल्दै सभापति देउवाले निर्वाचन हुन्न कि भनेर शङ्का नगर्न आग्रह समेत गरे ।
प्रदेश र संसद्को निर्वाचन गर्न पनि स्थानीय निकायको निर्वाचन छिटो गर्नुपर्ने चर्चा गर्दै उहाँले सभापति देउवाले भने, ‘संविधानले निर्धारण गरेको समय सीमाभित्रै स्थानीय निकाय, प्रदेश र संसद् एवम् प्रतिनिधिसभाको निर्वाचन हुन्छ, यसमा कसैले शङ्का गर्नुपर्दैन, यो जिम्मेवारीलाई नेपाली काँग्रेसले पूरा गर्छ ।’
सभापति देउवाले संविधान संशोधन गरेर मधेसवादी दललाई सहमतिमा ल्याउने तयारीमा वर्तमान गठबन्धन लागेको बताउँदै एमालेलगायतका दलले काँग्रेसको बारेमा छरेको भ्रम मेटाउन काँग्रेस लाग्नुपर्ने बताए । देशको सम्बृद्धिका लागि सबै निर्वाचनमा नेपाली काँग्रेसको बहुमत आउनुपर्ने दाबी गर्दै उहाँले निर्वाचनको तयारीमा जुट्न काँग्रेस कार्यकर्तालाई निर्देशन दिनुभयो ।
कार्यक्रममा परराष्ट्रमन्त्री प्रकाशशरण महतले वर्तमान सरकारको परराष्ट्र नीतिमा कुनै कमजोरी नगरेको स्पष्ट पार्दै उहाँले विगतका सरकारले गरेका सन्धि र सम्झौतालाई कार्यान्वयन गर्न तयार रहेको बताए ।
त्यस अवसरमा सांसद् मनमोहन भट्टराई, नेपाली काँग्रेस भक्तपुर सभापति दुर्लभ थापा, नेवि सङ्घका अध्यक्ष नैनसिंह महर, नेपाली काँग्रेस भक्तपुर क्षेत्र नं–१ का सभापति जीवन खत्री, क्षेत्र नं–२ का सभापति नारायणभक्त खायमलीलगायतले संविधान कार्यान्वयन गराउनेतर्फ काँग्रेसले भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए । रासस