मुखर्जी भ्रमण : सुरक्षामा कडाई, विमानस्थलमा कमाण्डो तैनाथ
प्रकाशित २०७३ कार्तिक १५ सोमबार
1.3k
Shares
काठमाडौं । भारतीय राष्ट्रपति प्रणव मुखर्जीको राजकीय भ्रमणको तयारीका लागि काठमाडौँका मुख्य स्थल स्वागतद्वार र दुबै देशका राष्ट्रिय झन्डाले सजिएका छन् । यस्तै, नेपाली सेनाको नेतृत्वमा तीन तहको सुरक्षा घेरा रहने बताइएको छ भने, अहिले नै विमानस्थलमा हतियारसहितको कमाण्डो खटाई सकिएको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, नयाँबानेश्वर, रामशाह पथ, शीतलनिवास, कालीमाटी, बौद्ध, गौशाला लगायतका स्थानमा स्वागतद्वार बनाइएको छ । मुखर्जी सवार हुने क्षेत्रका सडक र चोकमा सरसफाइ, रङ्गरोगन र ब्यानर राख्ने क्रम जारी छ ।
यसैबीच, मुखर्जीको आसन्न नेपाल भ्रमणको सुरक्षा योेजनाका बारेमा परराष्ट्र, रक्षा मन्त्रीसहित उच्च सरकारी अधिकृतले जानकारी लिएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीको मैत्रीपूर्ण निमन्त्रणामा भारतका राष्ट्रपति मुखर्जीले यही कात्तिक १७ देखि १९ सम्म नेपालको राजकीय भ्रमण गर्दैै छन् ।
परराष्ट्रमन्त्री प्रकाशशरण महत, रक्षामन्त्री बालकृष्ण खाँण, रक्षा सचिव श्रीधर सापकोटा, परराष्ट्र सचिव शङ्करदास वैरागीले सुरक्षा योजनाका बारेमा नेपाली सेनासित जानकारी लिएका हुन् ।
सो अवसरमा प्रधानसेनापति राजेन्द्र क्षत्री तथा बालाध्यक्ष बलदेव महत समेत उपस्थित थिए । मन्त्री खाँणले नेपाली सेनाले राष्ट्रपति मुखर्जीको आसन्न नेपालको राजकीय भ्रमणका क्रममा उच्च सतर्कताका साथ सुरक्षा प्रबन्ध मिलाउन निर्देशन दिएका छन् ।
यो, भारतका राष्ट्रपतिबाट १८ वर्षपछि नेपालको भ्रमण हुन लागेको हो । यसअघि भारतका राष्ट्रपति के आर नारायणन नेपाल भ्रमणमा आएका थिए ।