arrow

इजरेल-हमास युद्धमा म्याक्रोनको विशेष चासो

logo
हाम्रा कुरा
प्रकाशित २०८० कार्तिक १ बुधबार
macron-france.jpg

काठमाडौं ।  फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनले  इजरेल भ्रमण गर्ने तयारी गरेको जेरुसेलम पोस्टले उल्लेख गरेको छ। 

इजरेलमा हमास आतङ्ककारी समूहले गरेको घातक आतङ्ककारी हमलापछि हुन लागेको उनको भ्रमणलाई विशेष चासोका साथ हेरिएको छ । 

हमास समूहद्वारा अक्टोबर ७ देखि इजरेलमा गरिएका शृंखलाबद्ध हमलामा परी १,४०० इजरेलीको हत्या भएको छ । करिब २०० जनालाई अपहरण गरिएको छ । 

हमास आतङ्ककारीहरूले अपहरण गरेका मध्ये एक जना फ्रान्सेली इजरेली नागरिक माया स्किम सोमबार टेलिग्राममा पोस्ट गरिएको भिडियोमा देखा परेका थिए ।

 सो भिडियो सार्वजनिक भएपछि म्याक्रोनले उनको तत्काल निःशर्त रिहाईको माग गरेको द जेरुसेलम पोस्टले उल्लेख गरेको छ। म्याक्रोन इजरेलका दृढ समर्थक हुन् ।

यसअघि अक्टोबर ८ मा म्याक्रोनले इजरेली समकक्षी आइज्याक हर्जोग र इजरेलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुसँग वार्ता गरेका थिए । 

इजरेलमा गरिएको आक्रमणको निन्दा गर्दै फ्रान्सले पीडित देशलाई समर्थन गर्ने प्रतिबद्धता जनाएको थियो ।

हमासको आक्रमणपछि शनिबार बिहान दक्षिणी र मध्य इजरेलमा रकेटको ब्यारेज प्रहार भएपछि म्याक्रोनले नेतान्याहु र हर्जोगसँग वार्ता गरेका थिए । 

सामाजिक सञ्जाल 'X' मा म्याक्रोनले उल्लेख गरेका छन्- "मैले राष्ट्रपति हर्जोग र प्रधानमन्त्री नेतन्याहुसँग कुरा गरेको छु। 

म गाजाबाट इजरेल, त्यहाँका सैनिक र त्यहाँका जनतामाथि गरिएको आक्रमणको निन्दा गरेको छु। फ्रान्स, इजरेल र इजरेलीहरूसँग ऐक्यबद्धतामा उभिएको छ र तिनीहरूको सुरक्षाका निम्ति दृण छ ।" 

 यसै बीच हमासले इजरेलमा आक्रमण गरेपछि बेपत्ता भएका थुप्रै फ्रान्सेली नागरिकका परिवारका सदस्यहरूसँग सोमबार फ्रान्सका पूर्वप्रधानमन्त्री म्यानुअल भाल्सले भेट गरेका छन् ।

उनले तेल अवीवमा बेपत्ता भएकाहरूको परिवारलाई सान्त्वना दिएका छन् । इजरेलको राष्ट्रिय एकता पार्टीका नेता बेनी गान्ट्जले जर्मन चान्सलर ओलाफ स्कोल्जसँग भेट गर्न लागेको जेरुसेलम पोस्टले जनाएको छ ।

गाजास्थित स्वास्थ्य मन्त्रालयका अनुसार गाजामा इजरेली हवाई आक्रमणमा मारिएका प्यालेस्टाइनीको सङ्ख्या २ हजार ७५० पुगेको छ भने घाइतेको सङ्ख्या ९ हजार ७ सय पुगेको छ । मन्त्रालयले इजरेली आक्रमणमा मारिएका व्यक्तिहरूमा ७५० भन्दा बढी बालबालिका रहेको बताएको छ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ