arrow

बैंकले ऋण नदिँदा भूमाफियाको चंगुलमा परे अर्जुन, यसरी बनाइयो अलपत्र

logo
प्रिमेश शिवाकोटी, 
प्रकाशित २०८० कार्तिक ४ शनिबार
thagi-rautahat-2080-07-04.jpg

रौतहट । रौतहटको चन्द्रपुर नगरपालिकामा जग्गा हडप्ने गिरोह सक्रिय रहेको एक घटनाले देखाएको छ । जिल्लाको चन्द्रपुर ४  स्थित अल्पाइन होटलमा जग्गा ठगी प्रकरणविरुद्ध पीडितहरुले पत्रकार सम्मेलन गर्दै जग्गा  हडप्ने गिरोहको पर्दाफास गरेका हुन् । 

चन्द्रपुर नगरपालिका वडा नम्बर ८ का ३० वर्षीय अर्जुन चौधरीले आफू ठगिएको बताएका हुन् । आफ्नै मातृभुमिमा व्यवसाय गर्न भनी चौधरी एनएमबी बैंक र सनराइज बैंकमा ऋण लिन पटक पटक जाँदा ऋण नपाएपछि चिन्तामा परेसँगै उनको व्यवसाय गर्ने योजनामा तुषारापात भयो ।

व्यवसाय गर्ने योजना विफल भयो । 

के भयो त्यसपछि ? 
चौधरीका अनुसार त्यसको भरपुर फाइदा लिँदै पछिल्लो समय जग्गा ठगी गर्नेहरूको एक समूहले निज चौधरीलाई सम्पर्क गरी तिमीहरुलाई बैंकले पत्याउँदैन तिम्रो जग्गा मेरो नाममा पास गर म बैंकमा मेरो नाममा अलि बढी ऋण लिएर तिमीलाई आवश्यक रु २० बीस लाख दिन्छु म पनि चलाउछु भनी जग्गा पास गरेर लिए । 

जग्गा पास गरी लिएपछि निज पीडित चौधरीलाई पीडकले खातामा पैसा नभएको १९ लाखको चेक बैंकमा जम्मा गरेको बैंक भौचर पठाए । तर १ हफ्तासम्म खातामा पैसा आएन । समय बित्दै गयो जग्गा पास गरेको सात महिना बितिसक्दा पनि न त पैसा आयो नत जग्गा फिर्ता गरे । 

व्यवसाय गर्ने सपना बोकेर हिँडेका पीडित अर्जुन चौधरीको सपना सपनामै सीमित रहँदा करोडौंको जग्गा पनि गिरोहको कब्जामा गयो ।  

रौतहटको  शिवनगर घर भइ हाल चन्द्रनिगाहपुरमा व्यवसाय गर्दै आइरहेका वर्ष ३५ का ओमनाथ गिरीले निज अर्जुन चौधरीको ५ कठ्ठा १० धुर हालको बजार मुल्य करिब ३ करोड भन्दा बढी मुल्यको जमीन हडपेर पीडितलाई घरबारविहीन बनाइदिए ।  

पिडितले पटकपटक आफ्नो जग्गा फिर्ता गरिपाउँ भनि पीडकसँग ताकेता गर्दा फेरि कथामा अर्को मोड आयो । 

पीडित र पीडकको यसअघि चिनजान थिएन । चिनजान गराउने एक जना बिचौली थिए । ती हुन् चन्द्रपुर नगरपालिका वडा नं २ का रविप्रसाद साह । पीडकले  बिचौली साहको माध्यमबाट अर्जुन जस्ता पीडितहरुको जग्गा सङ्कलन गर्ने र हडप्ने कार्य गरे । 

जग्गा हडपिसकेपछि बिचौलीलाई मोटो रकम दिएर जग्गा धनीलाई भोलि पर्सि भन्दै पीडकले सात महिनासम्म झुटमात्र बोलिरहे । पीडितले हाल आफ्नो जग्गा फिर्ता माग्दा बिचौली साहले लिएको मोटो रकम दिलाइदेउ जग्गा फिर्ता गरिदिन्छु भन्दै उल्टो पीडितलाई सास्ती दिन शुरु गरे । 

फेरि एक पटक पीडित अर्जुन चौधरीको सपनामा तुषारापात भयो। 

अर्जुन आफ्नो सपना छोडेर गुमेको जमीन फिर्ता गर्न सहयोगको खोजीमा विभिन्न पार्टीका नेताहरुको घर धाउन थाल्छन् । तर निराश अर्जुनले घर भित्रको मानसिक तनाव खप्न नसकी आत्महत्यासम्मको सोच बनाए । अन्त्यमा साथीहरुको सल्लाहले चन्द्रनिगाहपुरमा पत्रकार सम्मेलन गरी न्यायको लागि लड्ने निधो गरे । 

बिचौली रविप्रसाद साह र पीडक ओमनाथ गिरीको जालझेलमा घरबारविहीन अर्जुन चौधरी एक उदाहरणमात्र हुन् । गिरी जस्ता जग्गा ठगीमा सामेल भू–माफियाहरूको एउटा ठूलो जमात जिल्लाभरि सक्रिय छन् । 

केही समय अगाडि एनआइसि एसिया बैंकले ठग्यो भन्दै रोइकराइ गर्ने एक हुल भू(माफियाहरुले अरुको जमिन आफ्नो नाममा गरेर बैंकबाट कृषिको नाममा ३० करोड भन्दा माथि ऋण लिएर अर्जुन जस्ता जग्गा धनीहरुलाई घरबारविहीन बनाउने षड्यन्त्रको पर्दाफास छिट्टै हुने क्रममा छन् ।

पीडितहरुलाई केही समय मागेर जग्गा बैंकबाट निकाली पास गरिदिने आश्वासनपछि यो षड्यन्त्र केही समयको लागि थामथुम भए पनि पीडितहरुको चिन्ता भने चाडबाडको बेलामा अझै सकिएको छैन। 

पछिल्लो समय यसरी सर्वसाधारणको जग्गा ललाइ फकाइ हडपेर बैंक ऋण लिने र साँवा व्याज भुक्तानी नगरी जग्गा धनीलाई घरबारविहीन बनाइदिने भू–माफियाहरूको बढ्दो चलखेलबाट सचेत हुनुपर्ने उदाहरण अर्जुनको कथाबाट स्पष्ट बुझिन्छ। 

आर्थिक मन्दीको मार खेपिरहेको युवा पुस्ताहरुलाई बैंकले केही गर्छु भन्दा ऋण नदिने र बिचौलीमार्फत ऋण प्रवाह गर्ने कारणले यस्ता दुर्घटना हुनबाट जोगिनुपर्ने देखिन्छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ