arrow

खःमेय बध गरी जात्रा सम्पन्न, ब्रह्मायणी जात्रा शुरु

logo
हाम्रा कुरा
प्रकाशित २०८० कार्तिक ७ मंगलबार
khyamori-puja.jpg

भक्तपुर । नवरात्रिको नवौँ दिन राति मनाइने भक्तपुरको प्रसिद्ध खःमेय् अर्थात् राँगो जात्रा मध्यराति सम्पन्न भएको छ । 

धार्मिक एवं सांस्कृतिक दृष्टिले महत्वपूर्ण मानिने यो जात्रा महिषासुर दैत्यको प्रतीकका रूपमा गठेमङ्गलका दिन खःमेय् अर्थात् राँगोलाई ल्याई भक्तपुरको नवदुर्गा मन्दिर प्राङ्णमा बाधेर राख्ने र नवमीका दिन उक्त राँगोलाई राति नवदुर्गा मन्दिरबाट दौडाएर नगर परिक्रमा गराउँदै ब्रह्मायणी मन्दिर पुर्‍याएर बध  गरिएको हो । 

महानवमीको राति नवौदेवी त्रिपुरासुन्दरी प्रकट भई नवदुर्गा भवानी पूर्ण हुने हुँदा परम्परागतरूपमा खःमेय्को बध गरी जात्रा मनाउने प्रचलन रहेको नवदुर्गा देवगणका नाइके रत्न बनमालाले बताए । 

खःमेय् अर्थात् राँगोलाई हिजो साँझ तान्त्रिक विधिअनुरूप पूजाआजा गरी जाँडरक्सी खुवाएर मत्ताई शरीरभर अबीर दलेर स्थानीयवासीले नवदुर्गा द्यो छेँ (देवगृह) बाट लखेट्दै दत्तात्रय, च्याम्हसिंह हुदै ब्रह्मायणी मन्दिरमा पुर्‍याई देवीलाई चढाएर जात्रा मनाएका हुन् । 

महानवमीको दिन राति नवदुर्गा देवगणलाई खःमयेको रगत चढाई देवगण सिद्ध गरी आज विजयादशमीको दिन तलेजुको पायो (खड्ग) जात्रा गरी खम्येको टाउकोलाई नगर परिक्रमा गर्ने परम्परा रहेको छ ।  

तान्त्रिक विधिअनुसार ब्रह्मायणीमा खःमेय्को बध गरिएको हो । बध गरिएको खःमेय् (राँगोे)को एक टुक्रा मासु लिन मध्यराती ब्रह्मायणी मन्दिरमा हजारौँको भीड लागेको थियो । 

सो मासुको टुक्रा प्रसादका रूपमा घरमा लगेर सुकुटी बनाई धूलो पारेर घ्यूमा मुछेर धूप बनाई लक्ष्मीपूजाका दिन बालेमा भूतप्रेत नलाग्ने, शत्रु नाश हुने र घरमा लक्ष्मीबास हुने जनविश्वास रहेको छ ।


प्रत्येक वर्ष विजयादशमीको दिन भक्तपुरको ब्रह्मायणी मन्दिरमा लाग्ने ब्रह्मायणी जात्रामा रातिदेखि नै हजारौ दर्शनार्थीको भीड लागेको छ । नवदुर्गाको शक्तिपीठका रूपमा मानिने ब्रह्मायणी मन्दिरमा आज नवदुर्गा प्रकट हुने जनविश्वास अनुरूप परम्परादेखि नै विजयादशमीको दिन यहाँ भव्य मेला लाग्ने गर्दछ । 

ब्रह्मायणी मन्दिरमा पूजा गर्न भक्तपुर, मध्यपुरथिमि, ताथली, सुडाल, बागेश्वरी, चित्तपोल, सिपाडोल, नङ्खेल, गुण्डुलगायत काभ्रे, ललितपुर र काठमाडौँदेखिका भक्तजन आउने गर्दछन् । मन्दिरमा पुजा सामग्रीसहित जमरा, हाँसको फूल, हाँस, बोका, कुखुराको भालेको बलिसमेत दिने गरिन्छ ।

आजका दिन व्रत बसेका व्यक्ति बिहानै घरदेखि मन्दिरसम्म घस्रिँदै, पल्टिँदै र शरीरमा पाँच, सात र १८ वटा दीप (दियो) बालेर घरदेखि मन्दिरसम्म जाने र पूजा गर्ने प्रचलन रहेको छ । शरीरमा दीप बालेर र नमस्कार गर्दै घरदेखि मन्दिरसम्म शरीर नापेर जानेको लस्कर लागेको छ । यसो गरेमा मनोकाङ्क्षा पूरा हुने, धर्म प्राप्त हुने जनविश्वास रहेको छ । मन्दिरमा आज दिनभरि नै भव्य मेला लाग्ने गर्दछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ