arrow

टी–२० त्रिकोणात्मक क्रिकेट

उपाधिका लागि नेपालले यूएईलाई दियो १६३ रनको चुनौती

logo
हाम्रा कुरा
प्रकाशित २०८० कार्तिक १० शुक्रबार
nepal-uae-2080-07-10.jpeg

काठमाडौँ । काठमाडौँमा जारी टी–२० त्रिकोणात्मक क्रिकेट श्रृंखलाको उपाधिका लागि अहिले नेपाल र यूएईबीच भिडन्त भइरहेको छ । 

खेलमा टस जितेर यूएईले बलिङ रोजेसँगै नेपालले पहिले ब्याटिङ गर्दै यूएईलाई १६३ रनको चुनौती दिएको छ । 

त्रिभुवन विश्वविद्यालयको कीर्तिपुर मैदानमा जारी खेलमा नेपालले ८ विकेटको क्षतिमा १६२ रन बनायो । 

नेपालका लागि ओपनर ब्याटर कुशल भुर्तेलले २९ बलमा ५० रन बनाए । करण केसीले १७ बलमा अविजित रहँदै २३ रन जोडे । दीपेन्द्र सिंह ऐरीले १५ बलमा २० तथा कप्तान रोहित पौडेलले १७ बलमा १८ रन जोडे । 
पाँच खेलाडी बोल्ड आउट भएका हुन् । आयान अफ्जल खानले ३ तथा अलि नसिर र अहुर खानले २–२ विकेट लिए । 

यसअघि लिग चरणका सबै खेलहरु मूलपानी क्रिकेट मैदानमा भएका थिए । तेस्रो टिम हङकङ पुछारमा रहेपछि शीर्ष दुई टिम नेपाल र यूएईले फाइनल खेलिरहेका हुन् । 

नेपाल यही श्रृंखलामै यूएईमाथि लगातार तेस्रो जितसहित उपाधि जित्ने लक्षमा रहेको छ । 

नेपालले दुवै टिमसँगका चार खेल जितेर अपराजित रहँदै फाइनलमा स्थान बनाएको हो । यूएईले भने हङकङसँग बराबरी गरेको भए पनि रनरेटमा अगाडि रहेसँगै फाइनलमा पुगेको हो । 

यसअघिको खेलमा यूएईले हङकङलाई हराएको थियो भने बुधबार भएको अन्तिम खेलमा हङकङले यूएईलाई ६९ रनले हरायो । फराकिलो जित हासिल गरेर यूएईसँग समान २ अंक जोडेको भए पनि रनरेटमा हङकङ पछाडि परेको हो । 

लिग चरणमा नेपालले यूएईलाई ५ विकेटले र ७ विकेटले हराएको थियो भने हङकङलाई ७९ रन र ६ विकेटले हराएको थियो । 

टी–२० विश्वकप छनोटको तयारीका लागि यो श्रृंखला भइरहेको हो ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ