arrow

नेपालको बल–ब्याट नचल्दा यूएईलाई सुम्पियो टी–२० क्रिकेटको उपाधि 

logo
हाम्रा कुरा
प्रकाशित २०८० कार्तिक १० शुक्रबार
nepal-t20-2080-07-10.jpeg

काठमाडौँ । काठमाडौँमा भएको टी–२० त्रिकोणात्मक क्रिकेट श्रृंखलाको उपाधि यूएईले जितेको छ । 

त्रिभुवन विश्वविद्यालयको कीर्तिपुर मैदानमा भएको फाइनलमा यूएईले नेपाललाई ४ विकेटले पराजित गरेको हो । नेपालको ब्याटिङ र बलिङ नचलेसँगै हार बेहोरेको हो । 

खेलमा टस जितेर यूएईले बलिङ रोजेसँगै नेपालले पहिले ब्याटिङ गर्दै ८ विकेटको क्षतिमा १६२ रन बनायो । 

नेपालका लागि ओपनर ब्याटर कुशल भुर्तेलले २९ बलमा ५० रन बनाए । करण केसीले १७ बलमा अविजित रहँदै २३ रन जोडे । दीपेन्द्र सिंह ऐरीले १५ बलमा २० तथा कप्तान रोहित पौडेलले १७ बलमा १८ रन जोडे । नेपालले रनका लागि निकै नै संघर्ष गरेको थियो । 

पाँच खेलाडी बोल्ड आउट भएका थिए । यसको मतलब खेलाडीहरु गम्भीर भएर नखेलेको आरोप लागेको छ । आयान अफ्जल खानले ३ तथा अलि नसिर र अहुर खानले २–२ विकेट लिए । 

जवाफमा यूएईले एक बल खेल्न बाँकी छँदै ६ विकेटको क्षतिमा जित हासिल गर्यो । कप्तान मुहम्मद वासिमले २२ बलमा ४५, वृत्तिय अरविन्दले २६ तथा आर्यांश शर्माले २५ रन बनाए । 

नेपालका लागि गुल्झन झा र अबिनाश बोहराले समान २–२ विकेट लिए । यसअघि लिग चरणका दुवै खेलमा नेपाल विजयी भएको थियो । 

यसअघि लिग चरणका सबै खेलहरु मूलपानी क्रिकेट मैदानमा भएका थिए । तेस्रो टिम हङकङ पुछारमा रहेपछि शीर्ष दुई टिम नेपाल र यूएईले फाइनल खेलेका हुन् । 

नेपालले दुवै टिमसँगका चार खेल जितेर अपराजित रहँदै फाइनलमा स्थान बनाएको थियो । यूएईले भने हङकङसँग बराबरी गरेको भए पनि रनरेटमा अगाडि रहेसँगै फाइनलमा पुगेको थियो । 

लिग चरणमा नेपालले यूएईलाई ५ विकेटले र ७ विकेटले हराएको थियो भने हङकङलाई ७९ रन र ६ विकेटले हराएको थियो । 

टी–२० विश्वकप छनोटको तयारीका लागि यो श्रृंखला भएको हो । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ