- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ । काठमाडौँमा जारी विश्वकप टी–२० एसिया छनोट क्रिकेट अन्तर्गत दोस्रो खेलमा नेपालले मलेसियासँग खेल्दैछ ।
त्रिभुवन विश्वविद्यालयको कीर्तिपुर मैदानमा नेपालले टस हारेर पहिले बलिङ गर्दैछ । खेल १ः३० बजेदेखि शुरु हुँदैछ ।
यता मूलपानी मैदानमा कुवेतले यूएईसँग खेल्दैछ ।
यसअघि कीर्तिपुर मैदानमा सम्पन्न खेलमा ओमानले सिंगापुरलाई पराजित गरेको छ । ओमान २२ रनले विजयी भएको हो । ओमानले पहिले ब्याटिङ गर्दै ६ विकेटको क्षतिमा १७४ रन बनाएकामा सिंगापुरले ८ विकेटको क्षतिमा १५२ रनमात्र बनायो ।
त्यस्तै मूलपानीको मैदानमा भएको खेलमा बहराइनले हङकङलई हराएको छ । बहराइन २० रनले विजयी भएको हो ।
बहराइनले ३ बल खेल्न बाँकी छँदै सबै विकेट गुमाएर १४६ रन बनायो । जवाफमा हङकङले ५ बल खेल्न बाँकी छँदै सबै विकेट गुमाएर मात्र १२६ रन बनाउन सक्यो ।
अंक तालिकामा
समूह एमा ओमान दुवै खेल जितेर ४ अंकसहित शीर्ष स्थानमा छ । नेपाल १ खेलबाट २ अंकसहित दोस्रो स्थानमा छ भने सिंगापुर २ खेलबाट अंकविहीन छ । त्यस्तै मलेसिया १ खेलबाट अंकविहीन हुँदै पुछारमा छ ।
त्यस्तै समूह बी मा १ खेलबाट २ अंकसहित यूएई पहिलो, २ खेलबाट २ अंकसहित बहराइन दोस्रो, २ खेलबाट २ अंकसहित हङकङ तेस्रो तथा १ खेलबाट अंकविहीन कुवेत पुछारमा छ ।
नेपाल लगातार दुई जितसहित एक खेलअघि नै सेमिफाइनलमा स्थान सुरक्षित गर्न चाहन्छ ।
सोमबार पहिलो दिनका खेलको नतिजा
पहिलो दिन सोामबर नेपाल, यूएई, ओमान र हङकङ विजयी भएका थिए । नेपालले सिंगापुरलाई ८ विकेटले हरायो । कीर्तिपुर मैदानमा भएको खेलमा पहिले सिंगापुरले ९ विकेटको क्षतिमा १४५ रन बनाएकामा नेपालले १६.३ ओभरमै २ विकेटको क्षतिमा जित हासिल गर्यो ।
ओमानले मलेसियालाई ३२ रनले हरायो । मूलपानी मैदानमा भएको खेलमा पहिले ब्याटिङ गरेको ओमानले ६ विकेटको क्षतिमा १५३ रन बनायो । जवाफमा मलेसियाले ८ विकेटको क्षतिमा १२१ रनमात्र बनाउन सक्यो ।
त्यस्तै यूएईले बहराइनलाई ५ विकेटले हरायो । मूलपानी मैदानमा पहिले ब्याटिङ गरेको बहराइनले ६ विकेटको क्षतिमा १३५ रन बनायो । जवाफमा यूएईले १८.२ ओभरमा ५ विकेटको क्षतिमा जित हासिल गर्यो ।
त्यस्तै मूलपानीमा भएको खेलमा हङकङले कुवेतलाई १६ रनले हरायो । पहिले ब्याटिङ गरेको हङकङले ६ विकेटको क्षतिमा १६६ रन बनायो । जवाफमा कुवेतले ८ विकेटको क्षतिमा १५० रनमात्र बनायो ।
आठ टिम सहभागी छनोटमा नेपालको समूहमा सिंगापुरसँगै ओमान र मलेसिया रहेका छन् ।
समूह बीमा यूएई, बहराइन, हङकङ र कुवेत रहेका छन् । समूहका शीर्ष दुई टिम सेमिफाइनलमा पुग्नेछन् ।
समूह एका खेलहरु कीर्तिपुर मैदानमा र समूह बीका खेलहरु मूलपानी मैदानमा भइरहेका छन् ।