arrow

बोलिभियाले तोड्यो इजरेलसँगको कूटनीतिक सम्बन्ध

logo
हाम्रा कुरा
प्रकाशित २०८० कार्तिक १६ बिहिबार
Isral1.jpeg

काठमाडौँ । दुई ल्याटिन अमेरिकी देशले बढ्दो मानवीय सङ्कटका कारण इजरेलबाट आफ्ना राजदूतलाई फिर्ता बोलाएसँगै बोलिभियाले गाजामा ‘असमान’ हमलालाई लिएर इजरेलसँगको कूटनीतिक सम्बन्ध तोडेको मङ्गलबार बताएको छ ।

“बोलिभियाले गाजापट्टीमा भइरहेको आक्रामक र असमान इजरेली सैन्य हमलाको खण्डन र भर्त्सना गर्दै इजरेलसँगको कूटनीतिक सम्बन्ध तोड्ने निर्णय गरेको छ”, उपविदेशमन्त्री फ्रेड्डी मामानीले पत्रकार सम्मेलनमा भने । 

राष्ट्रपतीय मन्त्री मारिया नेला प्रादाले पनि गाजामा मानवीय सहयोग पठाउन लागिरहेको घोषणा गरे । “हामी गाजापट्टीमा हमला अन्त्य गर्न माग गर्दछौँ, हमलाका कारण अहिलेसम्म हजारौँ नागरिकको मृत्यु भएको छ र प्यालेस्टिनीहरू जबरजस्ती विस्थापित भएका छन्”, सोही पत्रकार सम्मेलनमा उनले भने । 

अक्टोबर ७ मा हमासको आक्रमणसँगै विभाजनकारी सङ्घर्ष सुरु भएपछि वामपन्थी लुइस आर्सेको सरकार इजरेलसँग सम्बन्ध तोड्ने पहिलो ल्याटिन अमेरिकी सरकार बनेको छ । हमासले गरेको हमलामा एक हजार चार सयभन्दा बढी मानिस मारिएको इजरेली अधिकारीहरूले बताएका छन् । 

इजरेलले बुधबार बोलिभियाको कदमलाई ‘आतङ्कवादसामु आत्मसमर्पण’ भन्दै आलोचना गरेको छ । “यस्तो कदम चालेर बोलिभिया सरकारले स्वयंलाई हमास आतङ्कवादी सङ्गठनसँग जोडिरहेको छ”, इजरेली विदेश मन्त्रालयका प्रवक्ता लियोर हयातले एक विज्ञप्तिमा भने । 

बोलिभियाले गाजापट्टीमा अघिल्लो आक्रमण भएको एक दशकपछि सन् २०१९ मा इजरेलसँग कूटनीतिक सम्बन्ध पुनःस्थापित गर्ने घोषणा गरेको थियो । 

हमासले मङ्गलबार बोलिभियाको निर्णयको सराहना गर्दै बोलिभियालाई ‘उच्च सम्मानमा राखेको’ बताएको छ । उसले इजरेलसँग आफ्नो सम्बन्धलाई सामान्य बनाएका अरब मुलुकहरूलाई पनि बोलिभियाको जस्तै निर्णय लिन आग्रह गरेको छ । 

कोलम्बिया र चिलीका नेताहरूले पनि मङ्गलबार हमासमाथि इजरेली हमलाविरुद्ध बोलेका छन् । हमास नियन्त्रित स्वास्थ्य मन्त्रालयले इजरेली हमलामा अहिलेसम्म दुई तिहाई महिला र बालबालिकासहित आठ हजार पाँच सय प्यालेस्टिनी मारिएको बताएको छ । 

“मैले परामर्शका लागि इजरेलमा आफ्नो राजदूत (मार्गारिटा मन्जरेज) लाई फिर्ता बोलाउने निर्णय गरेको छु, यदि इजरेलले प्यालेस्टिनी नागरिकको नरसंहारलाई रोकेन भने हामी त्यहाँ रहने छैनौँ”, कोलम्बियाका वामपन्थी राष्ट्रपति गुस्ताभो पेत्रोले सामाजिक सञ्जाल एक्समा लेखेका छन् । 

अरब संसारबाहिर सबैभन्दा धेरै प्यालेस्टिनीहरूको जनसङ्ख्या भएको चिलीले मङ्गलबार इजरेलको ‘अन्तर्राष्ट्रिय मानवीय कानूनको अस्वीकार्य उल्लङ्घन’ को विरोधमा इजरेलबाट आफ्नो राजदूतलाई फिर्ता बोलाएको बताएको छ । 

संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्को स्थायी अध्यक्षता गरेको ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भाले युद्धविरामका लागि आग्रह गरेका छन् । 

इजरेलविरुद्ध प्यालेस्टिनी आतङ्कवादीहरूको ‘आतङ्ककारी हमला’ ले गाजामा ‘लाखौँ निर्दोष’ को हत्यालाई औचित्यपूर्ण मान्न नसकिने उल्लेख गर्दै उनले सामाजिक सञ्जालमा लाइभ सम्बोधनमा भभनेका छन्, “हमासले इजरेलविरुद्ध आतङ्कवादी हमला गरेका कारण इजरेलले पनि लाखौँ निर्दोष मानिसलाई मार्नुपर्छ भन्ने होइन ।”
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ