arrow

काभ्रेपलाञ्चोकका तीन पालिकाको त्रैमासिक समीक्षा 

logo
सरोजश्री अधिकारी, 
प्रकाशित २०८० कार्तिक १६ बिहिबार
kavre-local-2080-07-16.jpg

 काभ्रेपलाञ्चोक । जिल्लाका ३ स्थानीय तहको प्रथम त्रैमासिक अवधिको समीक्षा गरिएको छ । जिल्ला समन्वय समिति काभ्रेको आयोजनामा नमोबुद्ध नगरपालिका, रोशी गाउँपालिका र तेमाल गाउँपालिकाको आर्थिक  वर्ष २०८०–८१ को  प्रथम त्रैमासिक अवधिको समीक्षा गरिएको हो । 

नमोबुद्ध नगरपालिकाको व्यवस्थापनमा भकुण्डेवेशीमा भएको समीक्षामा जिल्ला समन्वय समितिका पदाधिकारी, स्थानीय तहका प्रमुख–उपप्रमुख, अध्यक्ष, उपाध्यक्ष, राजनीतिक दलका प्रमुख, वडाअध्यक्ष, सञ्चारकर्मी र कर्मचारीको उपस्थिति थियो । 

समीक्षामा चालु आर्थिक वर्षको ३ महिनाको अवधिमा भएको आर्थिक, भौतिक प्रगतिको समीक्षा गरिएको हो । नमोबुद्ध नगरपालिकाको तर्फबाट योजना अधिकृत विष्णुकुमार अधिकारी, रोशी गाउँपालिकाको तर्फबाट प्रमुख प्रशासकीय अधिकृत रामबहादुर तामाङ र तेमाल गाउँपालिकाकोतर्फबाट प्रमुख प्रशासकीय अधिकृत राजन पाण्डेले प्रस्तुत गरेका थिए । 

कार्यक्रमको उद्धघाटन गर्दै खानेपानी, उर्जा तथा सिंचाइमन्त्री तीर्थ लामाले जिल्लाको विकासको लागि लागि सबै पक्ष एकजुट हुनुपर्ने बताए । उनले आफूले प्रदेश सरकारबाट काभ्रेमा उल्लेख्य बजेट विनियोजन गराएको भन्दै ती योजना सफल बनाउन सबै तहले सहयोग गर्नुपर्ने बताए । 

जिल्ला समन्वय समितिका प्रमुख दिपक गौतमले जिल्लाका १३ ओृटै स्थानीयलाई ६ वटा कल्ष्टरमा विभाजन गरेर प्रथम त्रैमासिक अवधिको समिक्षा गरिने बताए । प्राप्त सुझाव र निष्कर्ष प्रदेश र संघ सरकारलाई पनि पठाउने उनले जानकारी दिए । 

नमोबुद्ध नगरपालिका प्रमुख कुनसाङ लामाले योजना तर्जुमादेखि नै आफूले सबै नगरपालिकामा सबै राजनीतिक दललाई समावेश गराएर अघि बढेको भन्दै सबैका सामुहिक प्रयासमा विकास गरिने बताए । 

जिल्ला समन्वय समितिका उपप्रमुख रिमबहादुर तामाङले यस्ता समिक्षाले एक अर्को पालिकाबाट सिकाइ हुने धारणा राखे । 

रोशी गाउँपालिका अध्यक्ष दिनेश लामाले योजना बनाउँदा जनतालाई केन्द्रीत गरेर बनाउने भन्दै संविधान, स्थानीय सरकार सञ्चालन ऐनले दिएको अधिकार अनुसार नै काम अघि बढाएको बताए । 

प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले विकास र सेवा प्रवाहमा शान्ती सुरक्षा पहिलो शर्त भएको भन्दै स्थानीय सरकारसँग हातेमालो गरेर अघि बढ्ने बताइन् । 

तेमाल गाउँपालिका उपाध्यक्ष दलमान (डीएम) थोकरले संघ र प्रदेश सरकार समेतको समन्वयमा गाउँपालिकामा विभिन्न खाले योजना सञ्चालन गरिएको बताए । 

नेपाल पत्रकार महासंघ काभ्रे शाखाका अध्यक्ष बद्रिराज तिमल्सिनाले स्थानीय तहका कामकारबाही गतिविधिलाई सूक्ष्म रुपमा अध्ययन गरिरहेको भन्दै सञ्चार क्षेत्रले रचनात्मक प्रतिपक्षको भूमिका खेल्ने बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ